नेकपा सुदूरपश्चिमले एमसीसी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने

२०८१ बैशाख २४ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले एमसीसीदेखि भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने, सिमा-नाकामा हेल्प डेस्क स्थापना गरी जनताको सेवा गर्ने, जनसरोकारका विषयमा काम गर्ने, जनताको घरदैलोमा गएर भेटघाट तथा संगठन सुदृढ र संगठन विस्तार गर्ने निर्णय गरेको छ । । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । बैठकले त्यसैगरी सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका समस्या समाधान गर्न सेती लोकमार्ग र महाकाली करीडोर निर्माणका लागी दबाब दिने निर्णय गरिएको पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सीले जानकारी गराए । उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको न्यायका पक्षमा आवाज उठाउने निर्णय गरेको जानकारी गराए । त्यसैगरी सुदूरपश्चिम प्रदेश पार्टीले वेबसाईड बनाएर पार्टीका नेताकार्यकर्ताहरुको विवरण राख्ने र जनताका गुनासाहरुलाई समेटेर बनाइएका सामाग्रीहरु राखिने निर्णय गरिएको समेत जानकारी गराए । स्थायी समिति सदस्य भरत सीले जातीय छुवाछूत, बोक्सीको आरोपमा कुटपीटका घटना विरुद्ध आन्दोलन गर्ने र लागु औषध रोकथामका लागी सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको जानकारी गराए ।
उनले समाजवादी मोर्चाको माध्यमबाट कम्युनिष्टहरुको एकताको पहल भइरहेको बताउदै विचार, कार्यदिशा र कार्यक्रम मिल्नेहरुसँग एकताको पहल भइरहेको बताए । उनले निर्वाचनलाई उपयोग गर्ने बताउदै सत्ताको मातमा लापत्ता हुनेगरी नभई क्रान्तिको मोर्चाको रुपमा निर्वाचनमा जाने बताए । उनले जनताको बिचमा गएर उनीहरुका पीडालाई बुझेर संगठन निर्माणमा लाग्न ३ महिने अभियानको सुरुवात गरिने बताए । उनले यही बैशाख २५ गते अभियानको उद्घाटन गर्ने बताउदै अन्तरक्रिया, पालिका, वडा भेला सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको जानकारी गराए ।

प्रतिक्रियाहरु