अमर सहिदहरूको रगत खेर जाने छैन

२०८० फाल्गुन १५ गते, मंगलवार

हस्तबहादुर केसी

“हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुई – चार सपूत मरेर नगए ।”

यी माथिका कविताका हरफहरू कवि भूपि शेरचनका हुन् । कवि भूपिले भन्नुभएको कुरा मात्र कवितामा सिमित छैन । व्यवहारमा सावित भएका कुरा हुन् । किनभने बिना बलिदान संसारमा कुनै समाजको परिवर्तन र क्रान्ति भएको इतिहास छैन । दास युगको अन्त्यको लागि वीरतापूर्णा तरिकाले लड्दालड्दै ईशापूर्व १०३ मा जन्मिएका रोमन दास स्पार्टकस ईशापूर्व ७१ मा ३२ वर्षको उमेरमा सहिद भएका थिए । त्यो बर्वर्युगमा हजारौं दासहरूरू दास विद्रोहमा सहिद भएका थिए ।

समाज विकासका क्रममा दस युग, सामन्तवादी युग, पुँजीवादी युग, समाजवादी यी जुन युगहरू परिवर्तन भए, यी सबै युग परिवर्तनमा ठूलो बलिदान भएको इतिहास छ । हजारौं, लाखौं सपूतहरूले जीवन उत्सर्ग गरेर मात्र ती समाज परिवर्तन भएका थिए । ठूला–ठूला क्रान्ति भएका छन्् ।

पुँजीवादी व्यवस्था राज्य व्यवस्थालाई ध्वस्त पारेर सर्वहारा वर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने महान् उद्देश्यका साथ सन् १८७१ को ऐतिहासिक पेरिस कम्युन निर्माणका क्रममा ३० हजार भन्दा बढी पेरिसका आधुनिक मजदुरले अमर सहिदको दर्जा स्थापित गरेका थिए ।

त्यस्तै महान् रूसी अक्टोबर समाजवादी क्रान्तिका क्रममा होस् वा महान् चिनिया नयाँ जनवादी क्रान्तिका, कोरियन तथा भियतनामी क्रान्ति, क्युवाली क्रान्ति होस् वा साम्राज्यवादका विरूद्ध कोरियन युद्ध, भियतनामी युद्ध होस् वा चिली, इन्डोनेशियामा अमेरिकी साम्राज्यवादले घटाएका सैनिक “कू” किन नहोस् । न अमेरिकी स्वतन्त्रता संग्राम होस्, न त भारतीय स्वतन्त्रता संग्राम, नेपाल मै पनि २००७ सालको परिवर्तन होस्, २०३५–२०३६ को आन्दोलन होस् वा २०४६ र २०६२–२०६३ का राजनीतिक परिवर्तन होस् या छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास भित्रका सुखानीको हत्याकाण्ड होस् वा छिन्ताङ हत्याकाण्ड, भिमान र पिस्कर हत्याकाण्ड, या महान् दस वर्षे जनयुद्धका क्रममा होस् । भारतीय विस्तारवादका विरूद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लड्दा–लड्दै जीवन उत्सर्ग गर्ने चिनियाकाजी श्रेष्ठ, भिमदत्त पन्त हुन् वा गोविन्द गौतम हुन्, ती हरेक रणसंग्रामहरूमा लाखौं सहिदहरूले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेर राष्ट्रिय स्वाधीनता स्थापित गरेका, अन्य समाजिक क्रान्ति र परिवर्तन सम्भव भएका थिए । यहाँ भन्न खोजिरहेको के हो भने बलिदान कहीँ कतै पनि न क्रान्ति भएको छ, न त सामाजिक परिवर्तन नै भएको छ ।

यस लेखमा खासगरी नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले जुन फागुन १४ गतेको दिन जुन सहिद दिवसको रूपमा मनाउँदै आएका छन््, यसकै सन्दर्भमा महान् तथा अमर सहिदहरू जसले महान् नेपाली क्रान्तिका सुन्दर सपनाहरू साकार पार्ने उद्देश्यका साथ जीवन बलिदान गरेले नेपाली धर्तीलाई रतो रगतले सिन्चित गरेर गएका छन्् । तिनीहरू कै बारेमा ध्यान केन्द्रित गरिनेछ ।

व्यक्तिगत स्वार्थबिना देश र जनताको भलाई र मुक्तिका लागि आफ्नो ज्यानको समेत बलिदानी दिने व्यक्तिलाई सहिद भनिन्छ ।

२०५१ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जुन तत्कालीन “सामन्तवाद र साम्राज्यवादको आडभरोसमा टिकेको राजतन्त्रात्मक बहुदलीय व्यवस्थालाई ध्वंस गरी जनताको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरौं” भन्ने मूल नाराका साथ सशस्त्र जनयुद्धको थालनी ग¥यो, उक्त सशस्त्र जनयुद्ध दस वर्षसम्म सञ्चालन भयो । त्यो सशस्त्र माओवादी जनयुद्ध नेपाली समाजको समग्र वर्गयुद्ध थियो । त्यसले नेपालको तत्कालीन अवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक, क्षेत्रीय, लिङ्गीय, जातीयलगायत सबै प्रकारका विभेदहरूको अन्त्य गरी अर्थात् आमूल परिवर्तन गरेर जनताको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य र उद्देश्य बोकेर उक्त सशस्त्र जनयुद्धको थालनी गरेको थियो । त्यो अत्यधिक महत्वपूर्ण कदम थियो । हरेक क्रान्ति र सामाजिक परिवर्तनले बलिदानीको माग गर्दछ नै । त्यस महान् दस वर्षे जनयुद्ध भीषण वर्गयुद्ध थियो । जनयुद्ध शुरू भए लगत्तै अर्थमा २०५२ साल फागुन १४ गते गोर्खाका दिलबहादुर सम्तेललाई तत्कालीन नेपाली काँग्रेसको प्रतिक्रियावादी सरकारले माओवादी भएको आरोपमा हत्या गरेर सहिदहरू लामबन्दी शुरू गरेको थियो । भोलिपल्ट १५ गते रूकुमको मेलगैरीमा छ केसी बन्दुको हत्या गरिएको थियो सोही महिनाको २९ गते तत्कालीन रूकुम जिल्ला प्वाङ गाविस –१ छिपखोलाका दिलबहादुर पुनलाई छोरा गणेशमान पुनलाई उपलब्ध नगराएको, उनलाई नसिकाई दिएको र नबुझाएको आरोपमा बाबु दिलबहादुर पुनलाई बिहान ५ बजेट घर भित्रबाट निकालेर घरको आगनमा भैंसी बाँध्ने किलोमा बाँधेर पुलिसले गोली ठोकेर निर्ममतापूर्वक हत्या गरेर तत्कालीन नेपाली काँग्रेसको देउवा सरकारले देशव्यापी रूपमा पुलिस अप्रेसन तथा संकटकाल घोषणा गरेर तत्कालीन शाही नेपाली सेना परिचालन गरेर माओवादीका नाममा दशौँ हजार नेपाली नागरिकको हत्या गरेर सहिद बनाएको थियो । अनेकोट हत्याकाण्ड नेपाली काँग्रेसको सरकारले घटाएको थियो भने पछिल्लो अबधिमा तत्कालीन निरंकुश राजा ज्ञानेन्द्र शाहले माओवादीका नाममा दोरम्बा हत्याकाण्ड घटाएको थियोे ।

त्यस वर्गयुद्धका क्रममा दशौं हजार नेपाली आमा असल तथा आँटी छोराछोरीहरूले जीवन बलिदान गर्न पुगे भने हजारौं घाइते, अपांग हुन पुगे भने त्यसक्रममा प्रतिक्रियावादी सत्ताले हजारौंको संख्यामा ज्यान बिपत्ता पा¥यो, जो आजसम्म पनि ती बिपत्ता पारिएकाहरूको राज्यले सार्वजनिक गर्न सकिरहेको छैन ।

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो बलिदान यही महान् दश वर्षे जनयुद्धको प्रक्रियामा भएको छ । माथि पनि उल्लेख गरिएको छ, पहिले पहिले भएका राजनीतिक परिवर्तनका क्रममा पनि ठूलो बलिदानी भए कै थिए । तर, ती बलिदानीहरूका तुलनामा महान् दस वर्षे जनयुद्धको प्रक्रियामा सबैभन्दा ठूलो जनताको बलिदानी भयो र त्यसकै अनुपातमा राजनीतिक उपलब्धिहरू पनि पहिले पहिलेकाभन्दा बढी नै भएको छ ।

महान् दस वर्षे जनयुद्धको जगमा २०६२÷२०६३ सालको ऐतिहासिक १९ दिने जनआन्दोलन सफल भयो । त्यसपछि २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको २०६५ साल जेठ १५ गते सम्पन्न पहिलो बैठकले २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । नेपालको राजनीतिक इतिहासमा, आजसम्मको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि नै मान्नुपर्छ । जनाएका सम्पूर्ण मागहरू त महान् नयाँ नेपाली जनवादी क्रान्तिले नै गर्नेछ । त्यो दिन ल्याउनका लागि त मुलुकले थप बलिदानीको माग गर्नेछ । त्यो कोटा पनि महान् नेपाली जनताले अवश्यै पुरा गर्नेछन्् ।

तर, आज अमर सहिदहरूको सम्झना गरिरहेको र उनीहरूलाई सम्मान गर्ने यस ऐतिहासिक दिनमा हामीले के कुरा भन्न र आँट गर्न कन्जुस्याइँ गर्न हुँदैन । दस वर्षे जनयुद्धको मुख्य नेतृत्वले राजनीतिक गद्दारी गरेर प्रतिक्रान्तिको मुख्य भूमिका खेल्न पुगेको मात्र होइन, दलाल संसदीय सत्ताको नेतृत्व गर्न पुग्यो । उसले महान् दस वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका नयाँ जनसत्ता, जनअदालत, जनकम्युन, जनसरकार, जनमुक्ति सेना, हतियारसहितका उपलब्धि र विरासत गुमाउनु परेको भए पनि महान् जनयुद्ध कुन न कुनै रूपमा जारी, महान् नेपाली क्रान्ति जारी छ र महान् नेपाली नयाँ जनवादी, वैज्ञानिक समाजवादी क्रान्ति अवश्यम्भावी छ । किनभने माओवादी आन्दोलनका क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरूले नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिलाई विजयसम्म पु¥याउने रणनीतिक उद्देश्यका साथ क्रान्तिका कामहरूलाई अगाडि बढाइरहेको अवस्था छ । यसका लागि देशभर छरिएर रहेका क्रान्तिकारी तथा देशभक्त शक्ति र पार्टीहरू एकताबद्ध हुन जरूरी छ । र महान् नेपाली जनताले अमर सहिदहरूको रगत खेर जान दिने छैनन् ।

फेरि यहाँनिर उनै कवि भूपि शेरचनका एक दुईवटा कविताका हरफहरू राखेर यो लेख यहीँ बिसाउने अनुमति माग्दछु ।

“हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिकार्ला

गोली निलेका सहिदका प्यारा लासले धिकार्ला

सहिद रोलान हामीले उन्नति गरेर नगए

हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुई – चार सपूत मरेर नगए ।”

– भूपि शेरचन ।

प्रतिक्रियाहरु