कलाकार छिरिङ शेर्पालाई गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान

२०८० फाल्गुन १४ गते, सोमबार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा नाचेर विश्व कीर्तिमान रचेका डान्सर छिरिङ शेर्पा र जेडी तमुलाई गिनिज विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरेका छन् । शेर्पा र तमुले सन् २०२२ को नोभेम्बर १७ मा ५ हजार २७८ मिटरको सोलुखुम्बुस्थित कालापत्थर पुगेर नाचेका थिए । उनीहरुले ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर’ विधामा रेकर्ड राखेका हुन् ।
राष्ट्रपति पौडेलले छिरिङलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिए । सो अवसरमा राष्ट्रपतिले सगरमाथा आरोहणको क्रममा रहेकी शेर्पालाई बधाई समेत दिए । आगामी अप्रिल-मेमा उनले हिमाल आरोहणको तयारी गरेकी छन् ।
छिरिङले यो सम्मानले एउटा सपना पूरा भएको र साथै, हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा आरोहीप्रति समर्पित गर्दै आफूले आरोहण गर्न लागेको उनले बताइन् ।
उनले भनिन् -‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ। ‘
छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट आरोहणसम्बन्धी तालिम लिएकी हुन् । एट्के एक्सिपिडिसन आरोही दलबाट उनले ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत रहेकी छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ ।

प्रतिक्रियाहरु