‘नेपालको राज्यसत्ता र अर्थतन्त्र दलालहरुको कव्जामा छ’

२०८१ बैशाख १५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य राजेन्द्र लोहनीले नेपालको राज्यसत्ता र अर्थतन्त्र दलाहरुको कब्जामा रहेको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले कालिकास्थानमा आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै लोहनीले नेपालको अर्थतन्त्र दलालहरुको कब्जामा रहेको बताएका हुन् ।
उनले दलाल पुँजीवादले नेपालको अर्थ व्यवस्था जकडिएको बताउँदै राज्यका निकायदेखि लिएर शिक्षा, स्वास्थ, आर्थिक, सास्कृतिक सबै क्षेत्रमा दलाल पुँजीवाद हावि हुँदा देश कंगाल भएको जनाए । ‘नेपालको सरकार ढाल्ने बनाउने, कसलाई सत्तामा लाने, कसलाई गिराउने सबै दलालहरुकै मुठिमा रहेको छ ।’, उनले भने, ‘नेपालबाट दलालहरुलाई परास्त गरेर समाजवादी व्यवस्थामा जान सम्पुर्ण कम्युनिस्ट, समाजवादी देशभक्त एक हुने दिन आएको छ ।’
लोहनीले नेपालमा दलाल पुँजीवादले निम्त्याएको संकटको अन्त्य गर्दै साम्राज्यवादी खतराबाट मुक्त पारेर समाजवादी व्यवस्थामा जान समाजवादी मोर्चा बनेको जिकिर गरे । ‘नेपालमा समाजवाद लागू गर्नका लागि अहिले अनकुल समय हो । अनकुल व्यवस्था पनि हो।’, उनले भने, ‘क्रान्तिकारी पार्टीले र सरकारले मात्र समाजवाद लागू गर्न सक्छ । अहिले यसको वातावरण मिलेको छ ।’ -– शोभराज बराल

प्रतिक्रियाहरु