एसिया कप क्रिकेट : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

२०८० भाद्र २९ गते, शुक्रबार


काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि सुपर फोरबाट बाहिरिएको छ ।
कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।
पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । यसैगरी अब्दुल्लाह शफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए । श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्क्षना र दुनीथ वेलालगेले १-१ विकेट लिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु