कृषि क्षेत्रलाई नजरअन्दाज नगर

२०८० भाद्र २५ गते, सोमबार

हालै सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । नयाँ तथ्यांकअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको पाइएको छ । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवार ७१ प्रतिशत थियो । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ भने अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेका थिए । तर, पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको छ । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

त्यस्तै, कृषकहरुले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको पाइएको छ भने कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेको देखिएको छ । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको तथा कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ ।

कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरुको कृषि ऋणमा चासो नदेखाएको पाइएको छ भने कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको पाइएको छ ।

यसैगरी, सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर रहेको पाइएको छ । कृषिगणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषिगणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको पाइएको छ । कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको र कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिएको पाइएको छ ।

यी सबै तथ्यलाई नियाल्दा देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई सरकारले सम्बोधन गर्न नसक्दा दिनप्रतिदिन तहसनहस हुँदै गएको देखिन्छ । नेपाली नागरिक साँझ–बिहानको छाक टार्न बिदेशीको भर पर्नुपर्ने स्थिति पैदा भएको छ । जुन देश र जनाताको लागि ज्यादै लाजमर्दो विषय हो, यसमा सरकार गम्भीर बन्नै पर्छ ।

सरकारले कृषि क्षेत्रलाई ध्यान दिने हो भने नेपालको परनिर्भर अर्थतन्त्र आत्मनिर्भर बन्ने निश्चित छ । देशका उत्पादनशील जमिन बाँझै छन्, युवाहरु विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो अवस्थामा सरकारले गम्भीर भएर सोच्नु पर्छ । उर्जाशील युवालाई देशमै उत्पादनशील कार्यमा सहभागी हुने वातावरण बनाउनु पर्छ र कृषि क्षेत्रको विकास र विस्तारको लागि आफ्नो सम्पूर्ण स्रोत र साधनको परिचालन गर्नु पर्छ । नेपालको अर्थतन्त्र कृषि क्षेत्रबाट नै आत्मनिर्भर र विश्वमा एक समृद्ध राष्ट्र बन्न सक्छ भन्नेमा दुई मत छैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु