राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ ३० देखि

२०८० भाद्र २२ गते, शुक्रबार

काठमाडौँ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौँको न्यू डायमण्ड एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागिता हुनेछन् । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष भण्डारीले बताए।
राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेतालाई रु एक लाख ५० हजार एक सय ११ का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुने टिमलाई जनही एक लाख एक हजार एक सय ११ र तृतीय हुने टोलीले रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तीज महोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितासहित सितोरियो कराते प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूह तीज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमलगायत हुनेछन् ।
समाजले भलिबल प्रतियोगिताका माध्यमबाट खेलकुदको विकासका साथै विभिन्न सामाजिका कार्यहरू गर्दै आएको समाजका पूर्वअध्यक्ष बुद्धिबहादर खत्रीले बताएका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु