सहिदको सपना साकार पारौं

२०७९ फाल्गुन २१ गते, आईतवार


तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चौथो विस्तारित बैठकले फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय गरेसँगै हरेक वर्ष फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा करिब १२ हजारले सहादत प्राप्त गरे, सयौँ घाइते, अपाङ्ग र बेपत्ता छन् । जनयुद्धको बलमा २४० वर्षे निरंकुश राजतन्त्रको अन्त्य भयो । तर, जनयुद्धको लक्ष्य पूरा हुन सकेन । जनयुद्धको नेतृत्व गरेका नेताहरू संसदीय राजनीतिमा भासिन पुगे । देशमा एउटा निरंकुश राजतन्त्रको त अन्त्य भयो तर राजतन्त्रलाई बिर्साउने गरी राजनीतिक दल र नेताको खोलमा दर्जनौँ राजाहरू खडा भए र देशलाई ब्रह्मलुट गर्न थालेका छन् । जनताको मौलिक हक, अधिकार कुण्ठित भएका छन् । महँगी, भ्रष्टाचार, कालोबजारीले सीमा नाघेको छ । जनजीविका चौपट भएको छ । तर, सत्तासिन र संसदवादी दलहरू भने सत्ता र सरकारको छिनाझम्टीमा तल्लिन छन् । के यसैको लागि जनयुद्ध भएको थियो ? के हजारौँ नेपाली आमाका सपुतले यसैकै लागि बलिदानी दिएका थिए त ? पक्कै होइन, स्वतन्त्र देश र सार्वभौम नेपाली बन्न ती महान् सहिदहरूले आफ्ना बलिदानी गरेका थिए । तर, जनयुद्धका नेतृत्वकर्ताले त्यसको दुरूपयोग गरे । जसका कारण अहिले पनि सहिदको सपना सपनामा नै सीमित छ । सहिदको बलिदानीको उपहास भइरहेकोछ । उनीहरूको परिवार बिचल्लीमा छन् । तर, राज्यलाई चासो छैन । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले देशमा सहिद सप्ताह मनाउदै एकीकृत जनक्रान्तिमार्फत् सहिदको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेको छ । यो आमस्वाभिमानी नेपाली जनताको लागि ज्यादै खुशी र गर्वको विषय हो ।
तसर्थ, सहिदको बलिदानी खेर जान नदिन, देशलाई स्वतन्त्र र जनतालाई सार्वभौम बनाउन नेपाल कम्युनिस्ट पार्टीलाई आमजनताले साथ दिई एकीकृत जनक्रान्तिलाई सफल पार्दै वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आमक्रान्तिकारी राजनीतिक दल, नेता र सम्पूर्ण तह र तप्काका जनसमुदाय गोलबद्ध भएर संकटको कारक वर्तमान ससदीय व्यवस्थालाई जरैदेखि उखलेर फाल्नु अनिवार्य भएको छ । अन्यथा शहिदको सपना चकनाचुर त हुन्छ नै देश र जनताको भविश्य पनि चौपट हुने निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु