‘क्रान्ति सम्पन्न गर्न दृष्टिकोण प्रष्ट हुनुपर्छ’

२०७९ माघ १ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्ति सम्पन्न गर्न दृष्टिकोण प्रष्ट हुनु पर्ने बताएका छन । गत आइतबार कपिलवस्तुस्थित शिवगढीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सल्लहाकार समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले क्रान्ति सम्पन्न गर्न पाका कम्युनिष्ट नेताहरुले बहस चलाउँदै क्रान्तिमा सहभागिता जनाउनु पर्ने बताए । उनले पार्टीले निकट भविष्यमा कम्युनिष्ट कलेज खोल्ने लक्ष्य राखेको बताउँदै त्यस कलेजमा अग्रज कम्युनिष्टहरुले प्रत्यक्ष सहभागिता जनाउनु पर्ने बताए ।

यसैगरी, महासचिव विप्लवले एमसीसी आन्दोलन, चुनाव खारेज अभियानमा जनताले दिएको साथको स्मरण गर्दै एकीकृत जनक्रान्ति सफल बनाउन जनताले साथ दिने ठोकुवासमेत गरे ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा बसेको केन्द्रीय सल्लहाकार समितिको बैठकमा प्रवक्ता प्रकाण्ड, स्थायी कमिटि सदस्य विषम, अनिल र शिलुको आतिथ्यता रहेको थियो । उक्त बैठकमा केन्द्रिय सल्लाहकार दीर्घ सी, होम सी, सन्ध्या सी, राजेन्द्र सी, यादब सी र सुन्दर सी लागायतले धारणा राखेका थिए । बैठकले केन्द्रिय सल्लाहकारको संयोजकमा दीर्घ सी लाई चयन गरेको छ ।

यसैगरी, गत सोमबारवाट सुरु भएको केन्द्रीय जनप्रतिनिधि समितिको बैठक बिहिबार सम्पन्न भएको छ । बैठकमा चुनाव खारेज अभियान र चुनावमा संसद्वादी दल र नेताहरुप्रति जनाताले देखाएको उदासीनतालगायत चुनावको परिणामले संसदीय व्यवस्थामा देखिएको संकट आमजनताले बुझ्ने गरी पर्दाफास भएको विषयमा गहन छलफल भएको बताइएको छ । यसैगरी, बैठकमा संसदीय व्यवस्थामा आएको संकट नेपाल कम्युनिष्ट पार्टी एकीकृत जनक्रान्तिको नयाँ योजना र कार्यक्रमसहित अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी पोलिटब्यूरोको बैठक पुस ३० गते शनिबारवाट सुरु भएको छ । पोलिटब्यूरोको बैठक सकिए लगत्तै नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक माघ २ गते सोमबारवाट सुरु हुने बताइएको छ । बैठकमा पछिल्लो दिनमा देशमा बढिरहेको साम्राज्यवादी हस्तक्षेप र चलखेलका विषयमा समेत गम्भीर छलफल हुने बताइएको छ । यी सबै विषय हेर्दा नेपाल कम्युनिष्ट पार्टी नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक ऐतिहासिक र भव्य हुने देखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु