कसैको प्रभाव र दबाबमा नपरौं

२०७९ बैशाख १८ गते, आईतवार

यही वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा स्वच्छ छवि भएका जनप्रतिनिधि छनौट गर्ने प्रक्रियालाई प्रभावित गर्ने गरी सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलले गठबन्धन गरी उम्मेदवार खडा गरेका छन् । जसका कारण स्वच्छ र इमान्दार नेता चुनावमा भाग लिनबाट बन्चित भएको समाचारहरु सार्वजनिक भइरहेका छन् भने जनताले स्वच्छ छवि भएका र इमान्दार जनप्रतिनिधि रोज्ने अवस्था गुमेको छ । सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलको गठबन्धनका कारण जनताले उनीहरुले खडा गरेको उम्मेदवारलाई नै मतदान गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । जनताको यही बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै बिगतमा सबै तहका निर्वाचन बहिस्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले यो पटक स्थानीय तहको निर्वाचन प्रयोग गर्ने नीति लिएको छ र उसले स्थानीय तहमा स्वच्छ छवि र इमान्दार नेतालाई उम्मेदवार खडा गर्ने, खडा हुन प्रेरित गर्ने र उनीहरुको सहयोग लिने अनि उनीहरुलाई सहयोग गर्ने बताएको छ । नेकपाको यस नीतिले थोरै भए पनि जनतालाई स्वच्छ छवि र इमान्दार नेता छान्ने अवसर प्रदान गर्ने देखिन्छ ।

तसर्थ, यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आमजनताले आफ्नो दलीय र व्यक्तिगत सम्बन्ध र स्वार्थलाई त्यागेर स्वच्छ छवि भएका र इमान्दार नेता छान्नु पर्दछ । अन्यथा, पुनः बिगतमा जस्तै स्थानीय निकाय भ्रष्टाचारको अखडा बन्ने छ भने विकास, निर्माण र जनजीविका चौपट हुने निश्चित छ । त्यसकारण, आसन्न स्थानीय तहको निर्वाचनमा कुनै राजनीतिक दल र नेताको प्रभाव र दबाबमा नपरी एक स्वाभिमानी र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा खरो रुपमा खडा हुने उम्मेदवारलाई बिजयी बनाऔँ । अन्यथा ः आगामी दिन घोर अन्धकारमय र कष्टकर हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु