विश्व मुटु दिवस मनाईदै

२०७८ आश्विन १३ गते, बुधबार


काठमाडौँ । आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ। यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ। नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढ्दै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ।
नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ। जसमा विकास उन्मुख र अविकसित देशहरुमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशत भन्दा बढि रहेको छ। सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या वर्षेनि २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ। हृदयाघातबाट सबै भन्दा बढि मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपाललगायत विकासोन्मुख राष्ट्रहरुमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत भन्दा बढि पुग्ने पनि अनुमान संगठनले गरेको छ।

मुटुलाई स्वस्थ राख्ने सजिला उपाय :

मानव शरीरको विभिन्न अंगहरुको आ–आफ्नो विशेषता रहेको हुन्छ । मानव शरीरको विभिन्न अंगहरुमध्ये मुटु एक सँवेदनशील र महत्वपूर्ण अङ्ग हो । मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसकेमा मानिसले आफ्नो अमूल्य जीवन गुमाउनपर्ने हुन सक्छ ।
बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थ भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन् । जसरी शरीरलाई स्वस्थ राख्न खानपिनको आवश्यकता हुन्छ, त्यसरी नै शारीरिक व्यायामको पनि आवश्यकता पर्छ । दिनभरमा यस्ता शारीरिक व्यायाम तथा गतिविधि जरुर गर्नु पर्छ जुन शरीरलाई आवश्यक हुन्छन् ।
सिँढी चढ्नु
घरमा होस् वा कार्यालयमा सिँढी त पक्कै पनि होला । यदि दिनमा १० मिनेट मात्रै पनि लगातार सिँढी चढ्ने र ओर्लने गरेमा धेरै लाभ लिन सकिन्छ । मुटुलाइ स्वस्थ्य राख्न सहयाेग पुग्दछ ।
ताई ची
गहिरो गरी स्वास लिनु, एकाग्रता तथा लयबद्ध शारीरिक गतिविधिको माध्यमबाट ताई चीको महत्वपूर्ण भूमिका हुन्छ । ताई ची तनाव कम गर्न र मुटुलाई स्वस्थ राख्नका लागि उपयोगी तरिका पनि हो ।
नृत्य
मुटुलाई स्वस्थ राख्न नृत्य सबैभन्दा राम्रो र रोचक शारीरिक व्यायाम हो । जो व्यक्ति कार्डियोभास्कुलर बिमारीबाट ग्रसित छन् उनीहरुका लागि यो सबैभन्दा उत्तम व्यायाम हो । मुटुको घड्कन प्रतिमिनेट १२० देखि १३५ बिटसम्म पुग्ने गरी व्यायाम गर्नुलाई राम्रो मानिन्छ ।
स्ट्रेचिंग व्यायाम
स्ट्रेचिंग व्यायाम तालिकाको एक निश्चित हिस्सा हुनु आवश्यक हुन्छ । धेरै मानिसका लागि स्ट्रेचिंग गर्नु धेरै अप्ठेरो पनि हुन सक्छ । तर हप्तामा कम्तिमा दुई पटक गर्दा यसको आदत बस्दै जान्छ र सजिलाे हुन्छ।
एरोबिक्स
विशेषज्ञहरुको नै सल्लाह छ कि एक स्वस्थ मुटुका लागि साप्ताहिक रुपमा कम्तिमा १ दिन ३० मिनेटसम्म एरोबिक गर्नु जरुरी हुन्छ । जगिङ गर्नु, दौडिनु, साइकल चलाउनु आदि व्यायाम एरोबिक्सअन्तर्गत पर्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु