अखिल क्रान्तिकारीद्वारा वैदेशिक हस्तक्षेपविरुद्ध देशभर प्रदर्शन

२०७८ श्रावण ८ गते, शुक्रबार


काठमाडौँ । अखिल क्रान्तिकारीले वैदेशिक हस्तक्षेपविरुद्ध देशभर बिरोध प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले काठमाडौंको माइतिघर मण्डलामा वैदेशिक हस्तक्षेपविरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका छन् । सो बिरोध प्रदर्शनमा उनीहरुले सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्ने, सवै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गरेका थिए । सो बिरोध प्रदर्शनलाई सम्बोधनगर्दै अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नयाँ सरकार बनेपछि वैदेशिक हस्तक्षेप हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताएका थिए ।
यसैगरी , अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको पथ्थरर्कोट बजारमा वैदेशिक हस्तक्षेप र राष्ट्रघाती सम्झौताको विरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार सङ्गठनको पूर्वघोषित केन्द्रीय कार्यक्रम अतरर्गत सिमा अतिक्रमण, एमसीसी लगायत राष्ट्रहित विपरीत सम्झौता विरुद्ध प्रदर्शन गरेको जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा सङ्गठनका जिल्ला उपाध्यक्ष संगीता विकले राज्य सङ्कटग्रस्त अवस्थामा रहेको र यसको निकासको लागि अब युवा विद्यार्थीहरु गलत प्रवृत्ति विरुद्ध सङ्घर्ष गर्नुको विकल्प नरहेको बताइन् । उनले राष्ट्र हित विपरीत एमसीसी जस्ता कुनै पनि राष्ट्रघाती सम्झौता गर्न नदिने बताइन् । विदेशी सिमा अतिक्रमण गर्दा राज्य गैरजिम्मेवार बनेकाले यसको कडा प्रतिरोध गर्ने उनले चेतावनी दिइन् । कार्यक्रम बुद्धभूमी नगर अध्यक्ष प्रकाश खनालको सन्चालनमा सम्पन्न भएको बताइएको छ ।
यसैगरी , अखिल (क्रान्तिकारी) कैलाले वैदेशिक हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रदर्शन गरेको छ । कैलालीको पहलमानपुरमा भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका थिए ।

सम्बोधन गर्दै जोशीले वैदेशिक हस्तक्षेपका विरुद्ध सङ्घर्षमा उत्रिन सबैलाई अपिल गरे । उनले नालायक, दलाल, भ्रष्ट, कमिसनखोर सरकारकै कारण लिपुलेक, कालापानी र सुस्ता लगायत ठाउँहरूमा छिमेकीले दिनहुँ जसो सिमा अतिक्रमण बढाएको, सिमाक्षेत्रका नागरिकलाई विभिन्न बाहानामा दुःख दिने कार्यप्रति निन्दा एवम् भत्र्सना गर्दै राष्ट्रिय स्वाधीनताको लडाइँमा एक ढिक्का भएर अगाडि बड्न आम युवा विद्यार्थी र समग्र जनसमुदायलाई आग्रह गरे । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ता राष्ट्रघाती सम्झौता गरि सार्वभौम देशलाई साम्राज्यवादी सेनाको अखाडा बनाउन खोजे जस्तोसुकै प्रतिरोध सङ्घर्ष गर्न तयार रहेको चेतावनीसमेत जोशीले दिए । यस्तै उनले सरकारले लिपुलेक, कालापानी, सुस्ता लगायत सिमा क्षेत्रका बिषयमा छिमेकी देशसँग तत्काल वार्ता गरि सिमा समस्या समाधान गर्नसमेत आग्रह गरे ।
प्रदर्शनमा सिमा हस्तक्षेप बन्द गर, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो ।, सुगौली सन्धि लगायत सबै असमान सन्धि सम्झौताहरू खारेज गर ।, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ।, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर । जस्ता नाराहरू लगाइएको थियो ।

यसैगरी , सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि–सम्झौताका विरुद्धमा अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको ब्रह्मदेवमा विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यवाद, बदलिँदो राजनीतिक सङ्कट, शैक्षिक विकृति लगायत विविध विकृति विसङ्गतिविरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पनि बिहीबार सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि–सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) का सेती–महाकाली व्युरो संयोजक तथा उक्त कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र शाहले सम्बोधन गर्दै वर्तमान विगतदेखि सत्तामा बस्ने शासकहरूले देशमा विभिन्न किसिमका देशको सार्वभौमिकता, राष्ट्रियता, स्वतन्त्रतालाई नै ओझेलमा पर्ने गरी देशलाई सङ्कटमा पर्ने गरी समस्या निम्त्याएको जिकिर गरे । उनले विगतमा भएका असमान सन्धि–सम्झौता, बढ्दो विदेशी चलखेल र त्यसले देशमा ल्याएको अस्थिर राजनीतिक सङ्कट नेताहरूको मात्र नभई सिङ्गो राज्य व्यवस्थाको नै असफल अभ्यास भएको बताए । अहिलेको आवश्यकता भनेको यो दलाल संसदीय व्यवस्था अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । जुन समाजवादी व्यवस्थामा सबै किसिमका उत्पीडन, विभेद, असमानता, वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता लगायत सम्पूर्ण समस्याको अग्रगामी हल भएको र यो व्यवस्था बदल्नु बाहेक अरू विकल्प नभएको शाहले बताए ।
कार्यक्रममा अतिथि ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदूर–पश्चिम संयोजक गजेन्द्र पाण्डे, त्रीमुल पार्टी नेपालका सुप संयोजक सुबास धामी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेल, सुप इन्चार्ज नरेन्द्र भाट लगायतले राष्ट्र र राष्ट्रियताको विषयमा मन्तव्य राखेका थिए भने उक्त कार्यक्रम अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष ललित एसकेले सञ्चालन गरेका थिए ।
उक्त कार्यक्रममा गएका अभियानकर्मीहरूले सीमा नजिक अनुगमन गर्न जाँदा अप्ठ्यारो हुन्छ जान मिल्दैन भन्दै नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको स्रोतले बताएको छ ।
यसैगरी , अखिल (क्रान्तिकारी) दाङले लमही नगरमा राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। जनप्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अनेरास्ववियु(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले राष्ट्रिय स्वाधीनताको सवालमा संगठनले निर्मम संघर्ष गर्दै आएको बताए।उनले वैदेशिक हस्तक्षेप,राष्ट्रघाती ,असमान सन्धि-सम्झौता पुर्ण खारेजिको माग गरे।विद्यार्थी नेता अनिलले संगठन निरन्तर राष्ट्रिय स्वाधीनता,जनताको अधिकार,शिक्षामा समान अधिकारका लागि स्थापनाकालदेखी संघर्षरत रहेको जिकिर गरे।राष्ट्रलाई विदेशी पन्जाबाट मुक्त गर्न वलिदानको उच्च कोटा चुक्ता गर्न पनि संगठन तयार रहेको नेता अनिलले उद्घोष गरे।
राष्ट्रिय स्वाधीनताको पक्षमा भएको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनकले संसदीय व्यवस्थाको कारणले राष्ट्रिय स्वाधीनता सर्वाधिक संकटमा रहेको धारणा राखे।नगर इन्चार्ज जनकले राष्ट्रघाती एमसिसी सम्झौता संसदवादी दलालहरुले जबर्जस्ति पास गर्ने खोजे जनताले भयानक विद्रोह गर्ने उद्घोष गरे।उनले,”एमसिसी मार्फत देश वेच्न खोज्नेजरुलाइ जनताले गाउँ-शहरवाट लखेट्छन”।
एक फरक प्रसंगमा इन्चार्ज जनकले वास्तविक शान्ती,समृद्धि,स्वाधीनता,जनताको अधिकारका लागि बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाको विकल्प नरहेको जिकिर गरे। उनले जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विसयमा जनताको जनमत द्वारा फैसला हुने निर्वाचन गर्न राज्य तयार हुनुपर्ने धारणा राखेका थिए ।
जनप्रदर्शन कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, असमान सन्धी-सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, कालापानी, लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो,देश वेच्न पाइदैन,दलाल संसदीय व्यवस्था मुर्दावाद,बैज्ञानिक समाजवाद जिन्दावाद नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।
जनप्रदर्शन कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमरले गरेका थिए।

यसैगरी , अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला समितिको आयोजनामा बुटवलको भारतीय पेन्सन क्याम्प फूलबारी गेट नजिकै राष्ट्रिय स्वाधीनताको पक्षमा र वैदेशिक हस्तक्षेपको विरोधमा कोणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा सङ्गठनकी जिल्ला अध्यक्षम इन्दु वलीले सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्न र अतिक्रमित भूमि तत्काल फिर्ता गर्न माग गरिन् । वलीले सबैखाले सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै आफ्नो पार्टीले अघि सारेको संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न अपिल गरिन् ।
सङ्गठनका जिल्ला उपाध्यक्ष पारस राहादी मगरले राष्ट्रहित विपरीत हुने कुनै पनि विदेशी सम्झौता आफूहरूलाई स्वीकार्य नहुने बताए । उनले सबैखाले असमान सन्धिसम्झौताहरू तत्काल खारेज गर्न माग गर्दै राष्ट्रिय स्वाधीनता र रक्षाको लागि आफ्नो सङ्गठनले देशव्यापी रुपमा कडा सङ्घर्ष र आन्दोलन गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ !, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर !, राष्ट्रघाती एमसीसी खारेज गर !, सबैखाले असमान सन्धिसम्झौताहरू खारेज गर !, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो !, सिमा अतिक्रमण बन्द गर !, अतिक्रमित भुमि फिर्ता गर !, अतिक्रमित भुमि नक्सामा समावेश गर !, साम्राज्यवादी दलालहरूलाई बहिष्कार गरौँ !, अखिल (क्रान्तिकारी) जिन्दावाद !, एकीकृत जनक्रान्ति – जिन्दावाद !, वैज्ञानिक समाजवाद जिन्दावाद ! लगायतका नाराहरू लगाइएको थियो ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगर लगायत विद्यार्थी नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सङ्गठनका जिल्ला सचिव पदम पराजुलीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु