संसदीय व्यवस्थाको विकल्प खोजौं

२०७८ बैशाख २७ गते, सोमबार

यतिबेला देश र जनता कोरोना संक्रमणबाट आतंकित छन् । कोरोना संक्रमणबाट थलिएका बिरामीहरुले अस्पतालहरु भरिभराउ भएका छन् । एकातिर उचित स्वास्थोपचार र अक्सिजन नपाएर मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ भने अर्कोतिर निषेधाज्ञाका कारण दैनिक मजदुरी गरेर बाँच्नेहरु भोकभोकै बस्न बाध्य भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । देश र जनता यसरी कोरोना महामारीको चपेटामा परिरहेको बेला आपूmलाई देशको प्रमुख राजनीतिक दल र नेता ठान्ने तथा मान्नेहरु कसरी सत्ता हत्याउने भन्ने खेलमा कम्मर कसेर लागेका छन् । उनीहरुलाई आफ्नो व्यक्तिगत र दलीय स्वार्थबाहेक देश र जनताको कुनै चिन्ता र चासो छैन भन्ने यस घटनाले पुष्टि गर्दछ । संसद्वादी दलहरुको यही हर्कतले देश र जनताले ठूलो कष्ट व्यहोरी रहनु परेको छ । तर, उनीहरु यसलाई आत्मसात गर्न तयार छैनन् । यस्तो अवस्थामा देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन हालै सरकारले प्रतिबन्ध फुकुवा गरेको नेपाल कम्युनिस्ट पार्टीले भनेको जस्तो संयुक्त वैकल्पिक सरकार गठन गर्नुको विकल्प छैन किनकि संसद्वादी दलहरुसँग देशको वर्तमान संकटको उचित निकासको लागि कुनै प्रष्ट दृष्टिकोण छैन । उनीहरु आफ्नो व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्न सक्दैनन् । त्यसकारण देशको वर्तमान संकटको निकासका लागि आमक्रान्तिकारी, प्रगतिशील र देशभक्त राजनीतिक दल र शक्तिहरुलाई समेत समेटी संयुक्त वैकल्पिक सरकार गठन गर्नुपर्छ र त्यही सरकारले मात्र देश र जनताको वर्तमान संकटको उचित समाधान गर्न सक्छ । अन्यथा यी संसद्वादी दलहरुको सत्ता र सरकारको लुछाचुँडीले देश र जनतालाई भड्खालोमा हाल्ने निश्चित छ । तसर्थ, देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन र आफ्नो अस्तित्व बचाउन संसद्वादी दल र नेताहरुसमेत असफल भइसकेको संसदीय व्यवस्थाको विकल्प खोज्न तयार हुनैपर्छ, अन्यथा देश र जनताको भविष्य अन्धकार हुने मात्र होइन संसद्वादी दल र तिनका नेता कार्यकर्ताहरुको अस्तित्वसमेत नामेट हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु