युवा सङ्गठन सल्यानको अध्यक्षमा प्रकाश गिरी

२०७७ चैत्र ३० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलनले प्रकाश गिरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटीसमेत बनाएको छ । जसको उपाध्यक्षमा विजय विक, सचिव राजकमल बुढाथोकी, सह–सचिव सुरेश चन्द र कोषाध्यक्षमा लोकराज भण्डारी रहेका छन् ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले मन्तव्य राखेका थिए । त्यस्तै नेकपाका राप्ती व्युरो सदस्य डिल्लीराज शर्मा ‘विश्व’, जिल्ला इन्चार्ज लोकपाल केसी, सङ्गठनका राप्ती व्युरो संयोजक तिलक योगी, अखिल क्रान्तिकारीका टंक प्रकाश केसी लगायतले मन्तव्य राखेका थिए । आभाषको अध्यक्षता तथा विजय विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राजकमल बुढाथोकीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाटनले प्रचण्ड लात्तिले हान्ने खालको फुटबल भएको बताएका छन् । उनले प्रचण्डलाई जसले पनि खेलाउन सक्ने खालको फुटबल भएको बताए । उनले भने, ‘माओवादीबाट भागेर केपी कहाँ प्रचण्ड पुगे, उता पुगेपछि पनि केपीले लात्ताले प्वाँक्क हानेर फेरि पहिलेकै ठाउँमा पुयाइदिए ।’ हिजो जनयुद्ध गर्दा प्रचण्डको आदेशमा हजारौँ मान्छेले रगत बगाएको बताउँदै अध्यक्ष पाटनले अहिले प्रचण्ड संसदीय व्यवस्थनामा पुगेको बताए ।
त्यस्तै नेकपाका राप्ती व्युरो सदस्य डिल्लीराज शर्मा ‘विश्व’ ले आफ्नो पार्टी वार्तामा आउँदा माओवादीहरूले भ्रम फैलाउँन सुरु गरेको बताए । उनले भने, ‘हामी केपीसँग मिलेका होइनौँ, वार्ता मात्रै गरेका हौँ । जो सरकारमा हुन्छ उसैसँग वार्ता हुन्छ । माओवादीहरूले भ्रम फैलाइरहेका छन् ।’ नेकपाका सल्यान जिल्ला इन्चार्ज लोकपालले संसदीय व्यवस्थामा जानाको लागि आफुहरू वार्तामा नआएको बताए । आफुहरू ३ बुँदे सहमतिमा मात्रै वार्तामा बसेको बताउँदै उनले अब सान्तिपूर्ण ढङ्गले राजनीतिक कामहरू अघि बढाउने बताए । नेपालमा संसदीय व्यवस्था असफल भैसकेको बताउँदै उनले अब वैज्ञानिक समाजवाद आउने बताए । त्यसका लागि अब जनमत सङ्ग्रहमा जानुपर्ने उनको भनाई थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु