सीमा विवादमा छलफल नहुने भारतको भनाइ

२०७७ माघ २ गते, शुक्रबार


काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतको नेतृत्व सुब्रमन्यम जयशङ्करले गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार आज विहान बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक शुरु हुनेछ । बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । संयुक्त आयोग र सीमा वार्ता दुई फरक संयन्त्र रहेको भन्दै त्यसमा छलफल नहुने विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन् । दुबै देशले बिहीबार नै छलफलका विषयसूची तय गरेका छन् । बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुनेछ । नेपालले व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्यलाई कार्यसूचीमा राखेको छ ।
कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने तयारी छ । विभिन्न समयमा दुई देशबीच उठेका विवादका विषयका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोरोना खोपमा साझेदारीजस्ता विषयका महत्वपुर्ण सहमति हुने अपेक्षा राखिएको छ । संयुक्त आयोग नेपाल र भारतबीच गठित संयन्त्रमध्ये राजनीतिक तहको एक उच्चस्तरीय संयन्त्र हो ।

प्रतिक्रियाहरु