सरकारको पुँजीगत खर्च निराशाजनक

२०७७ मंसिर ४ गते, बिहीबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व आम्दानी सन्तोषजनक भएपनि पुँजीगत खर्च भने निराशाजनक भएको छ  । पहिलो चौमासमा सरकारको राजस्व आम्दानी लक्ष्यनजिक देखिएको छ भने विकास खर्च लक्ष्यको एकतिहाइ मात्रै पूरा भएको छ । कात्तिक मसान्तसम्ममा सरकारले कुल २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । यो चौमासिक लक्ष्यको करिब ९१ प्रतिशत हो । चार महिनामा संकलित राजस्व वार्षिक लक्ष्यको २३ दशमलव ७४ प्रतिशत हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा एक दशमलव ४६ प्रतिशतले मात्र सुधार भएको छ । गत आर्थिक वर्षको २०७६-०७७ को पहिलो चौमासमा सरकारले २ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यो राजस्व संकलन गत आर्थिक वर्षमा सरकारले लिएको वार्षिक लक्ष्यको २२ दशमलव २८ प्रतिशत थियो । यो चार महिनामा सरकारले २९ अर्ब ४४ करोड रुपैयाँ विकास खर्च गरेको छ । यो चौमासिक लक्ष्यको करिब ३० प्रतिशत मात्रै हो । यस अवधिमा भएको विकास खर्च वार्षिक लक्ष्यको ८ दशमलव ३४ प्रतिशत हो ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा सरकारले २ दशमलव २५ प्रतिशतले विकास खर्च बढाएको छ । गत आर्थिक वर्ष २०७६-०७७ को पहिलो चौमासमा सरकारले २४ अर्ब ८३ करोड रुपैयाँ विकास खर्च गरेको थियो ।
सरकारलाई आम्दनी र खर्चमा सन्तुलन मिलाउन समस्या भएको छ । कोरोनाका कारण उत्पन्न परिस्थितिका कारण राजस्व आम्दानी लक्ष्यअनुसार उठ्न सकेको छैन । तर, चालू खर्च भने नियमित भइरहेको छ । चालू आर्थिक वर्षको पहिलो चौमाससम्ममा सरकारको कुल प्राप्ति र कुल खर्च झन्डै–झन्डै बराबर देखिएको छ । कात्तिक मसान्तसम्ममा सरकारले कुल २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ प्राप्ति गरेको छ । यस अवधिमा सरकारको कुल खर्च २ खर्ब ६९ अर्ब ७ करोड भएको छ  । यसमध्ये चालू खर्च २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ रहेको छ  । कुल खर्चको तुलनामा कुल आम्दानी ६१ करोड रुपैयाँले मात्रै बढी छ । त्यस्तै, चालू खर्चको तुलनामा राजस्व आम्दानी १० अर्बले मात्रै बढी रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार