आसियानले कोरोना महामारीविरुद्ध लड्न बहुपक्षीय सहयोग गर्ने

२०७७ मंसिर १ गते, सोमबार


काठमाडौं । दक्षिण पूर्व एशियाली राष्ट्रसंघ (आसियान) ले कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्न बहुपक्षीय सहयोग गर्ने निर्णय गरेको छ ।
आसियानको ३७ औं शिखर सम्मेलनमा सहभागी राष्ट्रहरुले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा महामारीविरुद्ध लड्न सामुहिक सहयोगको प्रतिवद्धता आवश्यक रहेको औंल्याएको छ । समारोहमा समापन मन्तव्य राख्दै भियतनामका प्रधानमन्त्री नुग्वेन जुआन फुकले कोरोना महामारीको लडाइमा सामुहिक पहल र प्रतिवद्धता कायम गर्नसके आसियान मुलुकहरुमा आर्थिक सुधारमा तीव्रता ल्याउन सकिने बताउनुभयो । उहाँले कोरोना महामारी र अन्य समस्या समाधानका लागि यसअघि भएका प्रतिवद्धताहरुको पूर्ण पालना र थप सहयोग एवम् सहकार्य आवश्यक रहेकाले पुन एकजुट हुने बेला आएको बताउनुभयो ।
बैठकले कोरोना महामारीबाट मुक्त भएर सामाजिक–आर्थिक जीवनलाई स्थिर पार्न आसियन किभरी फ्रेमवर्क र यसको समकालीन कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालेको छ । सम्मेलनले आसियान र यसका साझेदारहरुले बहुपक्षीय आर्थिक सहयोगका लागि विभिन्न प्रस्तावहरु पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
उक्त कार्यक्रमको सहयोग एवम् कार्यान्वयनका लागि आसियान राष्ट्रका प्रतिनिधि तथा पाँच साझेदार राष्ट्रहरु चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्डले क्षेत्रिय वृहत्तर आर्थिक साझेदारीमा हस्ताक्षरसमेत गरेका छन् । यो सम्झौता हालसम्मको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार समूहको सुरुवात भएको बताइएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु