‘प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेर देशको राष्ट्रिय स्वाभिमान कमजोर पारे ‘

२०७७ कार्तिक ९ गते, आईतवार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग भेटेर देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको बताएका छन् । प्रवक्ता श्रेष्ठले यसप्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् । उनले विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीत भएकोसमेत जनाएका छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको यस भेटबारे पार्टीमा पूर्वजानकारी नभएको, छलफल नगरेको र पार्टीलाई कुनै जानकारी पनि नभएको जनाएका छन् ।
उनले प्रधानमन्त्रीले कुनै विदेशी गुप्तचर संस्थाका प्रमुखसँग समकक्षीझैँ भेटेको नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको घटना पहिलो भएको उल्लेखसमेत गरेका छन् । प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचीअनुसार विदेशी गुप्तर संस्थाका अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत भेटेको पनि जनाएका छन् ।
प्रवक्ता श्रेष्ठकाे भनाइ जस्ताकाे तस्तै-“केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग “वार्ता “गरेर फिर्ता भएछन् ।प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन ।त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन?यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु