कोरोना नियन्त्रणमा ध्यान देऊ

२०७७ श्रावण २६ गते, सोमबार

देशभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । विज्ञहरुले कोरोना भाइरसले भयावह रुप लिन सक्ने भन्दै सरोकारवाला निकायहरुलाई सचेत रहन र बेलैमा नियन्त्रणका लागि उचित कदम चाल्न सल्लाह दिइरहेका छन् । तर, सरकार र सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिएको देखिँदैन । देश र जनता कोरोनाबाट आतंकित भइरहेको बेला सत्तारुढ नेकपा भने जुँगाको लडाइँमा मस्त छ । सत्तारुढ नेकपाका एकथरि नेता वर्तमान प्रधानमन्त्रीलाई गलहत्याएर आपूm सरकारमा पुग्ने प्रपञ्च गर्दैछन् भने वर्तमान सरकार जुनसुकै मूल्यमा पनि सरकारबाट नहट्ने रणनीतिमा लागेको छ । नेपाली उखान ‘साँढेको जुधाई बाछाको मिचाइ’ भनेजस्तो यो सत्ताधारी नेकपाभित्रको जुँगाको लडाइँका कारण आमसर्वसाधारणको जीवनमाथि खेलबाड हुन गएको छ । आपूmलाई लोकतन्त्रको ठेकेदार सम्झने सत्ताधारी नेकपा यतिबेला जनताको सेवाभन्दा सत्ताको लडाइँमा रमाएको छ, जुन ज्यादै निन्दनीय र घृणित पनि छ ।

कोरोना भाइरससँग लड्न र देशका तमाम समस्याको समाधान गर्न यतिबेला राष्ट्रिय सहमति आवश्यक छ । सत्ता र सरकारको छिनाझम्टीले देश र जनतालाई थप प्रताडित बनाइरहेको छ । देश र जनतालाई समस्याको भुङ्ग्रोमा हालेर सरकार र सत्तामा रमाउन खोज्ने पार्टी र नेताहरुलाई अब जनताले माफ गर्ने छैनन् । त्यसैले वर्तमान सत्ताधारीको विवादलाई जरैदेखि निमिट्यान्न पार्न प्रधानमन्त्री ओलीले आफुले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूर्णता दिन राष्ट्रिय सहमति कायम गर्नुपर्छ । त्यसका लागि सर्वप्रथम देश र जनताका पक्षमा ज्यान हत्केलामा लिएर संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध खारेज गरी वार्ताको वातावरण बनाउनुपर्छ । त्यसपछि देश र जनताको पक्षमा खडा भएका क्रान्तिकारी राजनीतिक दल र नेताहरुलाई समेटी वर्तमान संकटको निकास खोज्नुपर्छ साथै देशी–विदेशी दलालका स्वार्थमा राजनीति गर्ने दल र नेताहरुलाई उनीहरुले गरेको कर्तुतअनुसारको सजाय दिलाउनेतर्फ लाग्नुपर्छ । अन्यथा आमनेपाली जनता वर्तमान संसदीय व्यवस्थाविरुद्ध सडकमा उत्रने निश्चित छ । उनीहरुले देश र जनताको विरुद्ध खडा भएका राजनीतिक दल र नेताहरुलाई सडकबाट नै सजाय दिनेछन्, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु