भारतमा उच्च सुरक्षा सतर्कता

२०७५ फाल्गुन १५ गते, बुधबार

काठमाडौं, १५ फागुन । पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको भारतले पाकिस्तानबाट जवाफी कारवाही हुने आशंका गर्दै आफ्ना पाँच ठूला सहरलाई उच्च सतर्कतामा राखेको छ ।
आगामी ७२ घण्टाका लागि भन्दै भारतले दिल्ली, मुम्बईसहित विभिन्न पाँच सहरमा उच्च सुरक्षा सतर्कता अपनाएको हो । स्रोतका अनुसार पाकिस्तानको सीमावर्ती राज्यका सहरहरुमा विशेष सतर्कता अपनाइएको छ ।
भारतीय गुप्तचर निकायका अनुसार पाकिस्तानी सेनाबाट प्रत्यक्ष रुपमा भन्दा पनि कश्मीर क्षेत्रमा सक्रिय लडाकु समूहबाट ती सहरमा आतंकवादी गतिविधि हुन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइएको हो ।
स्मरणीय छ, पाकिस्तानी सेनाले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको छ । बालाकोटमा भएको भारतीय कारवाहीको जवाफ उचित ढंगले दिइने पाकिस्तानी सेनाको भनाइ छ।
पञ्जावको गुरुदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा स्थानीय प्रशासनले आपतकालिन अवस्था सामना गर्नका लागि आवश्यक तयारी गरेको छ । गुजरातमा पनि आपतकालिन अवस्था सामना गर्नेबारे आवश्यक रणनीति बनाउन मंगलबार राज्य सरकारले परामर्श गरेको थियो ।
यसैबीच जम्मु–कश्मीरको नियन्त्रण रेखामा गोली हानाहान भएको बताइएको छ । भारतले पाकिस्तानी पक्षले रातभरी गोली चलाएको आरोप लगाएको छ । हताहतीको विवरण भने आइसकेको छैन ।-एजेन्सी

प्रतिक्रियाहरु