नेपाली गैंडा भारतको खोरमा !

२०७५ फाल्गुन ८ गते, बुधबार

काठमाडौं, ८ फागुन । भारतको एक दैनिक अखबार ‘जागरण’ ले नेपालको एक गैंडालाई करिब अढाई वर्षदेखि थुनेर राखेको तथ्य प्रकाशमा ल्याएको छ । उक्त अखबारले खुलासा गरेअनुसार उत्तर प्रदेश राज्यस्थित ‘दुधवा टाइगर रिजर्भ’मा उक्त गैंडालाई थुनेर राखिएको छ । दुधवा पार्क प्रशासनलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार करिब अढाई वर्ष अघि भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाली भाले गैंडालाई उतै थुनेर राखिएको हो । उक्त गैंडालाई हाल प्रजनन् केन्द्रमा राखिएको छ । ‘फेस २ परियोजना’ नाम दिइएको गैंडा प्रजनन् अभियानमा उक्त नेपाली गैंडालाई प्रयोग गरिएको हो ।
गैंडालाई अनुवांशिक प्रदूषणबाट जोगाउने उद्देश्यले फरक ‘ब्रिड’ का साथ प्रजनन् अभियान सुरु गरिएको बताइन्छ । सुरुमा अधिकारीहरुले यस्तो प्रजननमा नेपाली गैंडा प्रयोग गर्न थालिएको तथ्यलाई लुकाएका थिए । उक्त अखबारका अनुसार एउटै गैंडाको सन्तानबाट अनुवांशिक प्रदूषण अन्त्य गर्न नसकिने भन्दै विज्ञहरुले उक्त अभियानकै विश्वसनीयतामा प्रश्न उठाएपछि अधिकारीहरुले प्रजनन् अभियानमा नेपाली भाले गैंडालाई सामेल गरिएको र उक्त गैंडालाई करिब अढाई वर्षअघिदेखि थुनेर राखिएको खुलासा गरेका हुन् । भारतीय अधिकारीलाई उद्धृत गर्दै सो अखबारले जनाएअनुसार ‘नेपाली गैंडालाई थुनेर राखिएको’ तथ्य उतिबेला उजागर गर्दा नेपालले आपत्ति जनाउन सक्ने र उक्त गैंडालाई फिर्ता लैजान सक्ने आशंकालाई मध्यनजर गर्दै मामिलालाई ‘गुपचुप’ राखिएको हो ।

प्रतिक्रियाहरु