प्रकाण्ड अभिनन्दित , भ्रष्टाचारी र बलात्कारीलाई ठेगान लगाएरै छोड्ने उदघोष

२०७५ मंसिर २० गते, बिहीबार

काठमाडौं , २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा बुधबार शक्ति प्रदर्शन गरेको छ । नेकपा कालिकोटद्वारा बुधबार आयोजित उक्त जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्ड सरकारले आफूलाई हिरासतमै मार्ने कोशिस गरेको बताएका छन् । आफू जनताको लागि संघर्ष गरिरहेको तर सरकारले झुटा मुद्दा लगाएर आफूलाई जेल हालेको भन्दै प्रकाण्डले जनताको साथ र बलमा उक्त प्रयास असफल भएको ठोकुवा गरे । प्रबक्ता प्रकाण्डले जनसभालाई सम्बोधन गर्दै आफू बरु बलिदान गर्न तयार रहेको तर दलाल सत्ताको अगाडि नझुक्ने बताए । जनताले परिवर्तनको लागि जनयुद्ध र जनआन्दोलनमा ठूलो बलिदान गरेको तर केही नेताहरुको कारण धोका पाएको भन्दै प्रकाण्डले एकीकृत जनक्रान्तिको माध्यमबाट जनताको सत्ता ल्याएर छोड्ने प्रतिवद्धता जाहेर गरे । प्रवक्ता प्रकाण्डले एक अर्को प्रसंगमा बोल्दै वर्तमान सरकार दलाल भएको भन्दै उसले दलाल, भ्रष्टाचारी, माफियाहरुको संरक्षण गरिरहेको बताए । उनले दलाल सत्ताले जनता र मध्यम वर्गलाई बैंकहरुले लुटेको बताउदै सामन्त सुद्खोरको ठाउँमा बैंक र बैंकरहरु आएको भन्दै जनता ठगिरहेको ठोकुवा गरे । उनले बैंकहरुकै कारण राष्ट्रिय उद्योगपतिहरुको टाट पल्टाई भएर पलायनको अवस्थामा पुगेको बताउँदै प्रकाण्डले बैंकरहरु मध्यम वर्गको सम्पत्ति लुट्ने गिरोहमा परिणत भएको बताउँदै लुटधन्दा आफ्नो पार्टीले रोक्ने बताए ।
उनले अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा भएको ठोकुवा गर्दै आफ्नो पार्टीको पहिलो निशाना नै भ्रष्टाचारी र बलात्कारीलाई ठेगान लगाउने रहेको बताए । उनले सरकारले कारबाही गर्न नसकेका अपराधीहरुलाई अब नेकपाले जनताको सहयोगमा कारबाही गर्ने ठोकुवा समेत गरे । उनले भ्रष्टाचारी र बलात्कारी संरक्षण गर्ने तप्काको दिनगन्ती सुरु भएको भन्दै दुई तिहाइ सरकारले गरेका हरेक गतिबिधि जनताबाट बहिस्कृत भएको र सरकारले ९ महिनाको अवधीमा एउटा पनि जनहितमा काम गर्न नसकेको ठोकुवा समेत गरे ।
प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने बताए । निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको बताउँदै सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेकोप्रति प्रश्न गरे। उनले अपराधीलाइई सरकारले नै संरक्षण गरेको दाबीसमेत गरे। उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको बताए । ‘निर्मला नेपाली एक छोरी हो। घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान हो’, उनले भने, ‘जुन कुरा सरकारले गर्न सकेन। अब हामी गरेर देखाउछौँ।’ निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ। निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने दाबी गरे।
यसैगरी प्रकाण्डले धर्म प्रचारक संस्थाको आयोजनामा राजधानीमा भएको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुनु गलत भएको बताए। ‘विवादस्पद र शंकास्पद’ एक गैरसरकारी कोरियाली संस्थाले राज्यलाई कमजोर सावित गर्दै आफ्नो प्रभाव नेपालमा देखाउने गरी आयोजना गरेको सम्मेलनमा सहभागी भएर एक लाख डलर सम्मान थाप्नु नेपाल र नेपालीको अपमान भएको उनको भनाइ छ।
उक्त जनसभामा सहभागी हुन गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले ५० दिन हिराशत बसेको सम्झनामा ५० किलोको माला लगाएर अभिन्दन गरेका थिए । कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा बिक भक्कानिएकी थिइन्। धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी हुन्। बहिनी जैपुरा सानाे छाेरासिहत मञ्चमा पुगेकी थिइन् । बहिनी रुनथालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए। नेकपाको सांस्कृतिक टिम सामना परिवारका प्रस्तुतिसहितको आमसभामा बोल्ने अधिकांश वक्ताले वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने उद्घोष गरेका छन्। कार्यक्रममा हजारौं स्थानीय नागरिकको सहभागिता थियो। कार्यक्रममा नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको नेताहरुले बताएका छन्। सहिद परिवारले सहिदको सपना पूरा गर्न र सहिदको रगतलाई खोलाको पानी बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष गरेका छन्।
यसैगरी जनसभा संगै अन्य दलका दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवैश गरेका छन् । पूर्वएमाले र माओवादी केन्द्रबीच अपवित्र एकता भएको भन्दै विद्रोह गरी क्रान्तिको पक्षमा उभिएका नेता कार्यकर्ता नेकपामा प्रवैश गरेका हुन् नवप्रवेशीहरुलाई जनसभामा प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्डलै टीका लगाई नेकपा प्रवेश गराएका थिए । नेकपामा प्रवेश गर्नेहरुमा जिल्ला तहका नेताहरु समेत रहेका छन् भने महिला, पुरुष, युवायुवतीहरु लामवद्ध भई प्रचण्डले धोका दिएपछि अलपत्रमा परेको क्रान्तिको झण्डालाई गन्तव्यमा पुरयाउने उद्देश्यसाथ आफूहरु नेकपामा प्रवेश गरेको प्रवेशीहरुले बताए । केपी ओली र प्रचण्डको नयाँ सत्तारुढ नेकपाले देश र जनतालाई भ्रममा पारेर स्वार्थ पूर्ति गर्नेबाहेक केही गर्न नसक्ने निस्कर्ष उनीहरुले निकालेका छन् । सोही अवसरमा नेपाली कांग्रेसबाट विद्रोह गरेर थुप्रै स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छ । उनीहरुले नेपाली कांग्रेसले जनताको अधिकार स्थापित गराउन भन्दा दलाल र बिचौलियाहरुको मतियार बन्दै गएको भन्दै आक्रोश व्यक्त गरेका थिए । केपी–प्रचण्ड नेतृत्वको पार्टीको ‘कम्युनिस्ट’ सरकारले देशलाई बर्बादी र नागरिकलाई दमन र अधिकारविहीन बनाएर तडपाउने कामबाहेक केही नसकेको भन्दै आफूहरुले विद्रोह गरेर परिवर्तन र अधिकारका लागि क्रान्तिकारी पार्टी नेकपामा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ । नेकपामा रहेर देश र जनताको स्वाधीन, समृद्धि र अधिकारको लागि निस्वार्थ रुपले भूमिका निर्वाह गर्नै प्रतिवद्धतता समेत उनीहरुले व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु