मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०७३ चैत्र ३ गते, बिहीबार

काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र विहीबार बुझाउँदै समर्थन फिर्ता लिएका हुन् । संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो ।
सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधनसम्बन्धी दिइएको सातदिने समयसीमा (अल्टिमेटम) पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ । सदनमा संघीय समाजवादी फोरमका १५, तमलोपाका ११, सद्भावना पार्टीका ५, फोरम गणतान्त्रिक १, राष्ट्रिय मधेस समाजवादी पार्टी ३ सदस्य संख्या रहेको छ ।
मोर्चाका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सभामुखको सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै मोर्चा प्रतिपक्षमा बस्ने निर्णय गरेको सन्चारकर्मीलाई जानकारी दिए । सन्चारकर्मीको एक जिज्ञासामा उनले ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुध्रिन्छ, आफ्नो कार्यशैली परिवर्तन गर्छ भने सहकार्य हुनसक्छ’–भने ।- रासस

प्रतिक्रियाहरु