यौनकाण्डको आरोपमा पूर्वमन्त्री पक्राउ

२०७३ भाद्र १९ गते, आईतवार

काठमाडौं, १९ भदौ । भारतको राजधानी दिल्लीस्थित आम आदमी पार्टी सरकारबाट बर्खास्त गरिएका पूर्व मन्त्री सन्दिप कुमारलार्य प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
बाहिरी दिल्लीका डीसीपी विक्रमजीत सिंहका अनुसार सन्दिप कुमारविरुद्ध संकलन गरिएको प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार सन्दिपकुमार विरुद्ध एक महिलाले दिल्लीको सुल्तानपुरी प्रहरी कार्यालयमा बलात्कार मुद्दा दर्ता गराएकी छन् ।
सन्दिप कुमार दिल्लीमा आम आदमी पार्टीको सरकारमा महिला कल्याणमन्त्री थिए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार साँझ उनलाई मन्त्री पदबाटठ हटाएका थिए ।
मुख्यमन्त्री केजरीवालले आफूलाई प्राप्त एउटा सीडीका आधारमा उनीमाथि कारबाही गरिएको बताएका छन् ।
भिडियोमा सन्दिपकुमारलाई एक महिलाका साथ आपत्तिजनक अवस्थामा देखिएका छन् । पीटीआईका अनुसार सन्दिपकुमार विरुद्ध मुद्दा दर्ता गराउने महिलाले सन्दिपकुमारले आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दावी गरेकी छन् ।
महिलाले सीडी सन्दिप कुमार मन्त्री बनेपछि बनाइएको दावी गरेकी छन् । महिलाका अनुसार उनी राशन कार्ड बनाउन सहयोगका लागि सन्दिप कुमारकोमा पुगेकी थिइन् ।
पीटीआईका अनुसार घटना सार्वजनिक भएपछि आम आदमी पार्टीले सन्दिप कुमारलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासित गरेको जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु