प्रधानमन्त्री प्रचण्डलाई अरबबाट जनयुद्धका घाइते योद्धाको खुलापत्र

२०७३ श्रावण २२ गते, शनिबार

पुष्पकमल दाहाल प्रचण्डज्यु,
अभिवादन एवं नमस्कार !
म आज दिनभरी अन्योलको बादलमा रुमलिएँ । एकछिन त म आफैँ अचम्मित परे । किनकि सामाजिक संजालभरी ‘पुष्पकमल दाहाल कमरेड प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भन्नु भएकोमा बधाई र शुभकामना’ भन्ने लेखिएको स्टाटसले मलाई एकै पटक हाँसो र अनौँठो लागेर आयो । खासगरी केही नयाँ जो जनयुद्धपछि शान्तिप्रक्रियामा आएका नयाँ माओवादी (म तिनीहरुलाई चैते माओवादी भन्दछु) हरुले बढी आफ्नो फेसबुक वालमा अचम्मै गरेर रङ्याएको देख्दा त झन् हेर्न पनि लाज लागेर आयो । किनकि तपाईं यसपाली जसरी प्रधानमन्त्री बन्नु भो, त्यसमा मलगायत धेरै क्रान्तिकारी कार्यकर्ता र जनतालाई ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ भनेजस्तै भएको छ । जो हामी दश वर्ष जनयुद्ध लडेका, अझ त्यसमा पनि हामी जो जनमुक्ति सेनामा काम गरेर योगदान गरेका धेरै योद्धाहरु आज अरबका खाडीमा धरधरी पसिना बगाएर आफ्नो व्यक्तिगत भविष्यका लागि गुलामी बन्न अभिशप्त छौँ । कारण थियो तपाईले जनयुद्धलाई प्रतिक्रियावादी सत्तासँग सम्झौता गर्दाको परिणाम ।तपाईंले जनयुद्धलाई प्रतिक्रियावादीहरुसँगको मोलतोलमा टुंग्याउदा तपाईले आफ्नो व्यक्तिगत भविष्यका लागि धेरै हदसम्म सुनिश्चित गर्नु भयो तर बहुसंख्यक क्रान्तिकारी कार्यकर्ता र जनताको भविष्यमा नराम्रोगरी खेलबाड गर्नु भयो । तपाईंले प्रधानमन्त्री बन्नुभन्दा अलि अगाडि संसद्मा निकै मीठो भाषण गर्नु भयो । आज मलाई हेर्ने फुर्सद मिल्यो । मैले तपाईंको कुरा सुन्दै जाँदा यस्तो लाग्यो– त्यो सपना जस्तो । एकछिन त म तपाईसँगै फेरि उही हाम्रा आधार इलाकामा नै छु जस्तो लाग्यो । उही रोल्पा, उही रुकुमका बस्तीमा हामीले कसरी सुरक्षा दिएर तपाईंलाई बचाएका थियौँ, सबै कुरा एकछिन स्मरण गराउने काम भए । तपाईंको कुरा सुने र तपाईंले सबै केही हदसम्म साँचो बोल्नु भयो । एकछिन म फेरि अन्योलमा परेँ । हुन त तपाई नाटक गर्न निकै खप्पिस कलाकार पनि हो । त्यो भएकोले धेरैले तपाईंले गरेको नाटक र खेल बुझ्न सक्दैनन् ।
म एकाएक जनयुद्धकालीन इतिहासमा विचरण गर्न पुगे । तपाईले म गरिबको छोरा हुँ भन्नु भो, सही लाग्यो । जमानामा सुप्रिम कमान्डर भन्नु भो त्यो पनि सही थियो । जनताको अधिकारका निम्ति जनयुद्धको थालनीको कुरा गर्नु भो । त्यो पनि सही लाग्यो । तर तपाईले आत्मसमर्पण गरेर दुनियाँका गरिबका छोराछोरीको भविष्यमाथि आफैँले धोका दिएको कुरा भन्न सक्नु भएन । दुख लाग्यो । तपाईंलाई यति पनि लाज लागेन तपाईलाई त्यो ठाउँमा पु¥याउने ती छापामारको जीवन कुन अवस्थामा छ र तपाईंले कसरी उनीहरुका सपनामाथि रजाइँ गरेर कसरी आफ्नो अस्त्तिव रक्षा गरे भन्ने हिम्मत गर्न सक्नु भएन ।
किनकि तपाईले गरेको सत्य कुरा त्यही थियो । दश वर्ष जनयुद्धमा दश हजारभन्दा बढी मान्छेहरुले सुन्दर र समृद्ध नेपालको सपना पूरा गर्न गरेको बलिदानमाथि तपाईले कतिसम्म क्रुर मजाक गर्नु भएको छ भन्ने कुरा छर्लङ्ग छ । दश वर्षे जनयुद्धमा दश हजार मान्छेको बलिदानबाट प्राप्त जनसत्ता, जनअदालत, जनकम्युन र आधारइलाका सबै तपाईको एकतर्फी विघटन गर्ने घोषणाले एकाएक विघटन गरिए । तपाईको आदेशमा मर्न र मार्न तयार जनमुक्ति सेनाका योद्धाहरुलाई तपाईकै आदेशमा श्वेत सेना लगाएर रातारात रेड गरिएको घटना इतिहासमा सबैभन्दा हाम्रा लागि कालो दिन बनेर रेकर्डेड भइसकेको छ ।
यसरी जनयुद्धका सपना र लक्ष्यमाथि यतिसम्म धोका र गद्दारी गरेर तपाई दोस्रो पटक या तेस्रो र चौथो पटक प्रधानमन्त्री बनेर हाम्रो देशमा हुनेवाला केही पनि छैन । किनकि देशको सत्ता र व्यवस्थालाई आमूल परिवर्तन नगरेर हुनेवाला केही पनि छैन । यो कुरा एउटा सामान्य लाटोले पनि बुझ्ने कुरा हो । तर, तपाईले जनताका छोराछोरीलाई धोका दिएर ठूलो गल्ती मात्र होइन, अपराधसमेत गर्नु भएको छ । तपाई आफ्नो नीजि स्वार्थका निम्ति जे पनि गर्न तयार भएर जसरी देश र जनतालाई ठूलो धोका दिनुभयो । याद गर्नुस् प्रचण्डजी, धोकेबाज र गद्दारहरुलाई कुनै दिन इतिहासले पक्कै दण्डित गर्नेछ । हामी ढुक्क छौं ।
उही विवशकुमार सेजुवाल
जनयुद्धमा जनसेनाका घाइते योद्धा

प्रतिक्रियाहरु