सुकुम्वासीमाथिको दमन असह्यै : विप्लब

२०७३ असार २४ गते, शुक्रबार

काठमाडौं, २३ असार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबले सुकुम्बासी वस्तीमाथि सुरक्षाफौजले गरेको भीषण दमनको भर्त्सना गरेका छन् ।
सर्लाहीको ढुंग्रे– ८, धरहरास्थित सागरनाथ विकास परियोजनास्थलमा रहेको सुकुम्बासी वस्तीमाथि असार २१ गते ‘ सुरक्षाफौजले गरेको भीषण दमन गरेको थियो । यसै बिषयलाई लिएर माओवादीका महासचिव विप्लबले बिहीबार प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘सर्लाहीको ढुङ्ग्रे– ८, धरहरामा अवस्थित सागरनाथ विकास परियोजनाको जमिनमा २०५० सालदेखि बसोबास गर्दै आएका सुकुमबासीहरुको बस्तीमाथि यो सत्ताको सुरक्षा फौजले असार २१ गते गरेको भीषण दमनप्रति हामी घोर भर्त्सना गर्दछौं ‘।
विज्ञप्तीमा महासचिव विप्लबले आफ्नो पार्टीका जिल्ला सचिव कुमार पौडेललगायतलाई वारेन्ट जारी गरेको , सयौं बिगाह जमिनको उखु, धान, मकैबाली पूर्णरुपले नष्ट गरेको भन्दै कथित कम्युनिस्ट र माओवादीको सहभागिता रहेको सरकारले सुकुमबासीमाथि गरेको दमनप्रति तिब्र रोष प्रकट गरेका छन साथै उनले सबै सुकुम्बासीको उचित व्यवस्था गर्न माग समेत गरेका छन । महासचिव विप्लबले घाइतेहरुको उपचार र क्षति भएको सम्पत्तिको क्षतिपूर्तिको जोडदार माग गर्दै अन्यथा आफ्नो पार्टी सुकुम्बासीले उठाउँदै आएका जायज मागको समर्थन गर्दै दमनका विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने र यसबाट निस्कने परिणामको भागेदारी सम्बन्धित पक्ष हुने चेतावनी समेत दिएका छन ।
महासचिव विप्लवद्धारा जारी गरिएकाे विज्ञेप्तीकाे पूरा पाठ यस प्रकार रहेको छ : ” यही असार २१ गतेका दिन सर्लाहीको ढुङ्ग्रे ८, धरहरामा अवस्थित सागरनाथ वन विकास परियोजनाको जमिनमा गत २०५० सादेखि बसोबास गर्दै आएको सुकुमबासी बस्तीमाथि यो सत्ताको सुरक्षा फौजले गरेको भीषण दमनप्रति हामी घोर भत्र्सना गर्दछौं ।
त्यहाँ रहेको २५ सय हेक्टर सरकारी जमिन २०३५देखि सागरनाथ वन विकास परियोजनाले हडपेको र उक्त जमिनका राम्रो रुखहरु टिम्बर कर्पोरेशन अफ नेपालले काटेर बेची चरम भ्रष्टाचार गरेको कुरा सार्वजनिक भैसकेको छ । यसरी रुख काटिएको जमिनमा टाँकिया रुखको खेती गर्ने योजना भएपनि उक्त सागरनाथ वन परियोजनाले वेवास्ता गरेपछि त्यहाँका जनताद्वारा टाँकिया संघर्ष समिति बनाइएको थियो ।
यही क्रममा २०५० सालदेखि देशका विभिन्न ठाउँबाट आएका बाढी पहिरो पीडित भूमिहिनहरु बस्दै आएका थिए । यही प्रक्रियामा २०६६ साल चैत २७ र २८ गते त्यहाँ बसोबास गर्दै आएका सुकुम्वासी, परियोजना प्रमुख जीवन कुमार ठाकुर, उपसचिव तीर्थराज चन्द, उपसचिव विनोदकृष्ण मानन्धर लगायतका, सुकुमवासी नेता कुमार पौडेल ज्ञानबहादुर तामाङ, भगवान मैनालीसहितको त्रिपक्षीय वार्ता गरी वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्ने, टाँकिया वस्ती निर्माण गर्ने, परियोजनामा आर्थिक विपन्नहरुको जिविकोपार्जनको व्यवस्था गर्ने, जनसहभागिता र लाभांश बाँडफाँड गर्ने, क्षतिपुर्तिको व्यवस्था गर्ने लिखित सहमति भएको थियो ।
यही सहमति बमोजिम त्यहाँ लगभग ४ हजार सुकुम्वासीहरुले यहाँको जमिन भोकचलन गर्दै आएका थिए । उक्त सहमतिको पूर्ण उल्लघंन गर्दै कुनै पूर्व जानकारी बिना सरकारले २१ गतेका दिन एकाएक दमन गरेको छ । दमनका क्रममा सयौं सशस्त्र र जनपथ परिचालन गरेको, सयौं राउण्ड अश्रु ग्यास र रवरको गोली चलायो, ३६ जना घाइते संजीव बम्जङको आँखा गुमेको छ ।
उनको टाउकोमा २ वटा गोली अहिलेपनि छ । उनको ६ घण्टा शल्यक्रिया गरिएको छ । यही क्रममा २१ जना महिला सहित ३१ जनालाई हिरासतमा लगि चरम यातना दिएको छ । सुकुमवासीका ३५ घर तोडफोड गरी पूर्ण क्षति गरिएको । ६ वटा मोटर साइकल, ३५ वटा साइकल तोडफोड गरेको छ । गाई भैसीलाई माथि कुटपिट गरेको छ ।
हाम्रा पार्टी जिल्ला सचिव कुमार पौडेल लगायतलाई वारेन्ट जारी गरेको छ । सयौं विगाह जमिनको उखु, धान, मकैवाली पूर्णरुपले नष्ट गरेको छ । कथित कम्युनिस्ट र माओवादीको सहभागिता रहेको यो सरकारले सुकुमवासीमाथि गरेको यो दमनलाई तुरुन्त बन्द गरोस् । त्यहाँ बसेका सबै सुकुम्वासीको उचित व्यवस्था गरोस् । घाइतेहरुको उपचार, क्षति भएको सम्पतिको क्षतिपूर्ति देओस् भन्ने जोडदार माग गर्दछौं ।
अन्यथा हाम्रो पार्टी सुकुम्वासीले उठाउँदै आएका जायज मागको समर्थन गर्दै दमनको विरुद्धमा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने छ । यसबाट निस्कने परिणामको भागेदारी सम्बन्धित पक्ष हुने जानकारी गर्न चाहान्छौं ।”

प्रतिक्रियाहरु