नौजवान पठाएर कहिलेसम्म लाश बुझिरहने ? – पृथीछक बुढा मगर

२०७३ असार १७ गते, शुक्रबार

२२ जुन नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलमा एकै चोटि १२ वटा नेपाली नौ जवान लाशहरु ओरालिए । हरेक दिन जसो यस्तै रातो बाकसमा नेपाली नौ जवानहरुको लास आइपुग्छ । नौ जवान पठाएर लास बुझिरहेको मेरो देशको वास्तविक अनुहार हो यो । यस्तै बाध्यता छ नेपाली जनको । यस्तै दुर्दशा छ । यस्तै नियती छ ।
लाशको कुरा गरिरहदा हामीले नेपालीहरुको बिदेशीने परम्परा कहिले देखि, किन र कसरी शुरु भयो भन्ने जवाफ खोजिनु पर्दछ । जवसम्म यो जवाफको खोजी हुदैन तवसम्म विमानस्थलमा लाशको थुप्रो लाग्ने सिलसिला कदापी रोकिने छैन । नेपालीहरुको लाहुरे प्रथा नै यसको सबै भन्दा जतिल समस्या हो । खासगरी नालापानीको युद्धमा बाध्यतावश किल्ला छाडेका कप्तान बलभद्र कुँवर पञ्जावकेशरी रणजीत सिंहको फौजमा भर्ना भएपछि नेपालीहरु विदेशी सेनामा भर्ना हुन थालेको इतिहास सुरु हुन्छ । पछि नेपालीहरुको बहादुर र सौर्य देखेर नेपालीहरुलाई लाहोरमा भर्ती गर्न थालीयो । पछि लाहोर शब्द नेपाली जन जिब्रोमा लाहुर हुन गयो र त्यहाँ भर्ती भएकाहरुलाई लाहुरे भन्न थालीयो । अचेल त कुरा यहाँसम्म छ कि, भारतको लाहोर बाहेक अन्य देशमा गएका प्रवासी नेपालीहरुलाई पनि लाहुरे भन्न थालियो । यसको अर्थ लाहुरे प्रथाले नेपाली समाजलाई निकै आक्रमण गरेको अबस्था हो ।
बृटिस साम्राज्य फैलाउने क्रममा बेलायतको तर्फबाट धेरै नेपालीहरु लडे । पछि सन १९४७ मा भारत स्वातन्त्र भईसके पछि भारत, बृटिस र नेपालको बिचमा त्रिपक्षिय सम्झौता भयो । त्यस पछि झन बिधिगत रुपमा नेपाली युवाहरु बिदेशी सेनामा भर्ती हुने परम्पराको जब बलियो भएर बस्यो । यो सिलसिला अझै जारी नै छ । प्रथम विश्व युद्ध देखि लिएर पछिल्लो समय इराक अफ्गानिस्तानसम्म पनि निरन्तर नेपाली लडिरहेको छ । आफ्नो स्वाधिनताको लागि होइन, अर्काको देशको लागि लडिरह्यो । नेपालले ततस्थताको नीति अप्नाउनु पर्छ । गोर्खा भर्तिले ततस्थताको नितिलाई खिल्ली उडाइरहेको छ । हामी नेपाली सधै शक्ति राष्ट्रहरुको पक्षपोषक भयौं । उनिहरुको साम्राज्य फैलाउने र उनिहरुको सुरक्षा कवच बन्ने बाहेक हामीले के गर्न सकेका छौँ । यहि हाम्रो बिडम्बना हो ।
२१औं शताब्दिको पुर्ब सन्ध्यामा विशेष त साम्राज्यबादी भौतिकवादी शक्ति र परम्परागत अध्यात्मबादी (मुस्लिम समुदाय) बिचको अन्तर्बिरोध जुन विशेष रुपमा चुलिएको छ यो नै आजको बिश्वब्यापी खतराको चिन्ह हो । यो वा त्यो बाहनामा साम्राज्यवाद बिश्वमा युद्धको कसरत गरिरहेको छ । यसमा प्रयोग को हुन्छ ? नेपाली हुन्छ । यसमा को मर्छ ? नेपाली मर्छ । अब यो समस्याको उपाय खोजौ । उपाय छ । गोर्खा भर्ती रोक्नु पर्छ ।
१२ नेपाली अफ्गानिस्तानमा बम हमलामा मारिए पछि परराष्ट्र मन्त्रालयका एक अधिकारीले बडो हास्यास्पद अभिब्यक्ती दिए । उनले भनेका थिए, `तालीवानको निशानामा नेपालीहरु किन परे ? यसको अनुसन्धान भईरहेको छ ।´ कृपया महोदय, अनुसन्धानको जरुरत छैन । गोर्खा भर्ती रोक्नु पर्छ र विश्व समुदायलाई सुचित गर्नु पर्दछ कि नेपाल भनेको शान्तिको मुहान गौतम बुद्धको देश हो त्यसैले पृथ्वीमा हुने कुनै पनि युद्धमा नेपालको सर्मथन हुने छैन । प्रमाणित गरेर देखाउनु पर्छ । नत्र हिजो इराकमा १२ जना मरे । आज अफ्गानिस्तानमा पछि उपचारको क्रममा मृत्यु भएका एकजना सहित १३ जना मरे । भोलि यदि बिश्व आतंकबादको आँखा नेपालमा परयो भने कति मान्छे मर्ला ? यदि गोर्खा भर्तिको सिलसिलालाई नरोक्ने हो भने निस्चित छ त्यो अकल्पनिय क्षति नेपालमा शुरु हुने छ । यसमा राज्यले कहिले चासो लिन्छ ?
नेपाल एउटा यस्तो फ्याक्ट्री हो, जसले मान्छे जन्माउछ र त्यसलाई बिदेशमा निर्यात गर्छ र उताबाट लास भित्र्याउछ । जुन २२ मा एकै चोटि १२ लास नेपाल भित्रिदा हामीलाई आश्चर्य लाग्यो । दुख लाग्यो । बेदनाले पोल्यो । तर हरेक दिन जसो यहि बिमानस्थलमा एक दुई वटा यस्तै लाशहरु रातो बाकसमा प्याक भएर आउने गरेको दृष्टान्त हाम्रो बिचमा मौजुद छ । स्थान फरक होला । कारण फरक होला । कोहि गोलि लागेर मरेका होलान । कोहि सडक दुर्घटनामा मरेका होलान । कोहि विल्डिङ्गबाट खसेर मरेका होलान । कोहि सुतेको सुत्यै भए होलान । सबै भन्दा ठूलो मिल्दो कुरा त उनिहरु जहाँ मरे पनि मुलुक बाहिर मरे । देश बाहिर गएर मरे । सबैको मृत्युको ठूलो कारण राज्य हो जसले गोर्खा भर्ती देखि शुरु भएको नौ जवान युवा बिदेशीने परम्पराको अन्त्य गर्न नसक्नु ।
आज नेपालका धेरै गाउँ युवा बिहिन भएको छ । गाउँ बस्ती उराड र उजाड जस्तो देखिएको छ । वारि जोत्ने पुरुषको अभाब खड्केको छ । बिहेमा जन्ति र मर्दामा मलामीको अभाब खड्किएको छ । यस्तो लाग्छ, मेरो देश एउटा बिशाल बृद्दाश्रम हो जहाँ अशक्त र उमेर ढल्केका पाका मान्छेहरुको जमात छ । यहि छ मेरो देशको अबस्था ।
मलाई यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एउटा प्रसङ्ग जोड्न मन लाग्यो । पछिल्लो संविधान सभामा बडो नराम्रो तरिकासङ्ग पराजित भइसके पछि उनले भनेका थिए, `हामीलाई भोट दिने मान्छे जति सबै बिदेश गए पछि हामी कसरी चुनाब जित्छौ ?´ कुरा फेरि त्यही आउँछ, युवा रोक्ने योजना राज्य र देशको जिम्मा लिएका ठेकेदारहरुले किन ल्याउन सकेनन् ? रेमिट्यान्सबाट तलब भट्टा खाइरहेका ती महामानवहरु अझ चेतनाहिन भएर निदाएका छन । यता बाकसका बाकस लास आइरहेको छ । कहिलेसम्म यो देशको नेतृत्वले हाम्रो नौ जवानको मृत्युमा गोहिको आँसु चुहाइरहने हो ? कुनै जवाफ छ ?
समृद्धिको नमुना देश दक्षिण कोरिया कुनै बेला उसको हालत पनि खराब थियो । बिदेशको कोइला खानीमा काम गरिरहेका कोरियाली नागरिकहरुसङ्गको भेटघाटको क्रममा राष्ट्रपतिलाई नागरिकहरुले सोधेका थिए, `राष्ट्रपति महोदय, हामी कतिन्जेलसम्म बिदेशिनु पर्ने हो ?´ राष्ट्रपतीले आँसु खसाल्दै भनेका थिए, `एकदिन हाम्रो पनि दिन अबस्य फिर्ने छ । अबस्य फेर्ने छ ।´ आज कोरिया कहाँ देखि कहाँ पुगिसक्यो । हामी पनि हाम्रो देशको नायकहरुलाई सोधिरहेका छौँ, महोदय हामी कतिन्जेल रातो बाकसमा प्याक भएर फर्किने हो ?´ तर जवाफमा कोहि केही भन्दैन । यो युगौ युग देखि चलिरहेको चलन भएको छ । चलिरहन्छ मानौँ । अन्त अन्त कालसम्म । यो त सस्कृती भएको छ । लाहुरे हाम्रो सस्कृती हो मानौँ । लाहुरेको नयाँ सस्करण आएको छ । अरपे, खाडी लाहुरे । मरुभुमिको लाहुरे । लाहुरे झुन्डिरहन्छ पछाडि । मानौँ, यो हाम्रो नयाँ थर हो । नयाँ जात हो ।

प्रतिक्रियाहरु