सुन्दरीजल प्रशोधन केन्द्र जीर्ण

२०७३ असार ६ गते, सोमबार

काठमाडौँ, ६ असार । विसं २०२३ मा निर्माण भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ । उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने यो प्रशोधन केन्द्र ५० वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले बताए । दैनिक दुई करोड १० लाख (२१ मिलियन) लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख (२६.५ मिलियन) लिटर पानी पाइपबाट महाँकालचौर शाखा लगेर प्रशोधन गरिन्छ ।
प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुक्खा याममा दैनिक ४–५ घन्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक २–३ घन्टा पानी निर्यात गरिने गरेको पनि उनले बताए । सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्या छ । “सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठूलाठूला भल्भ नै जीर्ण भएका छन्”– लिमिटेडका प्रवक्ता मिलनकुमार शाक्यले बताए ।
खानेपानी लैजाने यन्त्रलाई पानीमा प्रयोग गरिने रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या रहेको प्रवक्ता शाक्यको भनाइ छ ।
मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेको शाक्यले बताए । दुई वर्ष अघि नै केन्द्र निर्माणको तयारी गरिए पनि प्राविधिक कारणले रोकिएकाले आगामी आवको सुरुमै टेन्डर गरी प्रक्रिया सुरु गरिने लिमिटेडले जनाएको छ ।
हाल उपत्यकामा दैनिक ३६ करोड लिटरको पानी माग रहेको छ भने लिमिटेडले वर्षात्मा १५ करोड लिटर र सुक्खा मौसममा नौ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । सञ्चालनमा रहेको पानी प्रणालीमा ४० प्रतिशत चुहावट भए पनि रोक्न नसकिएको कर्मचारीले नै स्वीकार्ने गरेका छन् । एक सय २० वर्ष पुराना पाइपबाट समेत पानी वितरण भइरहेकाले चुहावट हुनु स्वभाविक भएको महाप्रबन्धक भट्टराईको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब

२०८१ जेष्ठ ११ गते, शुक्रबार

नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार