निजी विद्यालयलाई लगाम लगाऊ

२०७३ बैशाख २५ गते, शनिबार

विद्यालयमा नयाँ शैक्षिकसत्र सुरु भएको छ । हरेक वर्ष झैँ सरकारले निजी विद्यालयको शुल्क, पुस्तक, पोशाकलगायतको मनपरिमा रोक लगाउने बताए पनि त्यो नारामा मात्र सीमित भएको छ । सरकारले नारामा मात्र शैक्षिक क्षेत्र सुधारलाई सीमित राखेपछि भने निजी विद्यालयहरु ‘काग कराउँदै गर्छ पिना सुक्दै’ भन्ने उखान चरितार्थ गर्दै लुट मच्चाउनमै व्यस्त छन् । निजी विद्यालयमा भर्ना शुल्क पचास हजार र कक्षा १ को मासिक शुल्क अठ्ठाइस हजारसम्म भएको समाचार हालै मात्र प्रकाशित भएको छ । तर, सम्बन्धित निकायहरु चुपचाप बसिरहेका छन् । सरकारको यही रबैयाले निजी विद्यालयको मनपरि बढी रहेको छ । अब निजी विद्यालयको मनपरि र निजी विद्यालयलाई खुल्ला छाड्ने सम्बन्धित पक्षलाई हामी सबैले खबरदारी गर्नै पर्छ । निजी विद्यालयलाई मनपरि गर्ने छूट दिएर आफ्नो दुनो सोझ्याउने निकाय र कर्मचारीलाई अब जनताले कठ्घरामा उभ्याउनैपर्छ । सरकारी विद्यायलाई राजनीतिको अखडा बनाएर शैक्षिक गुणस्तर धराशयी बनाउने र निजी विद्यालयको शिक्षामा गुणस्तरीय देखाएर आमजनताको ढाड सेकाउने शुल्क उठाउन दिएर शिक्षामा तस्करी गर्ने माफियालाई अब तह लगाउनैपर्छ । जसको सुरुवात नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गरिसकेको छ । अखिल क्रान्तिकारीको यो अभियानलाई हामी सबैले होस्टेमा हैँसे गर्नैपर्छ । अन्यथा यी शैक्षिक माफियाहरु अझै मौलाउने छन्, चेतना भया ।

प्रतिक्रियाहरु