एमाले नेताहरुका बीच दूरी र धुरी चुलिँदै

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौँ । विवाद, फुट र गुटबन्दी एमालेले धेरै झेलेको छ । २०५४ सालमा बामदेव गौतमले महाकाली सन्धिको विरोधको नाममा पार्टी नै फुटाए । तर, पछि संसद्मा एक सिट पनि ल्याउन नसके पछि उनी फेरि एमालेमै फर्किए । नवौं महाधिबेशन आसपासबाट भने विरोध र असहमतिका बीच पनि एमाले एकढिक्का भएको देखिएको थियो । तर, पछिल्लो समय फेरि एमालेमा नेताहरु र समूहहरुबीच दूरी बढ्दै गएको छ । अहिले एमाले नेताहरु आफ्नो पहिचान र हैसियतका आधारमा धुरी समेत खडा गर्दै हिँड्न थालेका छन् । जसको फलस्वरूप एमालेमा नेताहरुका बीचमा दूरी र धुरी बढ्दै जान थालेको स्पष्ट संकेत देखिन थालेको छ ।
ओलीले एकलौटी गरेको आरोप
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने कुरा सहकर्मी बरिष्ठ नेताहरुभन्दा पहिला अन्य आपूm निकटका नेतासँग र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको आरोप नेताहरुको छ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि बसेको स्थायी समितिको बैठक नै आन्तरिक विवादका कारण केही दिन लम्बिएको थियो । सो समयमा पनि बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले हामीलाई नै जानकारी नभई, निर्णय नै नभई कसरी विद्या भण्डारी राष्ट्रपति हुने बनाउने भन्ने कुरा बाहिर आयो ? भनेर प्रश्न गरेका थिए । २०७१ असार ३२ गते पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई पराजीत गर्दै ओली निर्वाचित भएदेखि नै सामान्य घोषित–अघोषित मतभेद राख्ने काम माधव नेपालले शुरु गरेको र यो ईगो प्रोव्लेमको रुपमा रहेको ओली निकटका एक नेताको दावी छ । उनको तर्क के छ भने ओली पार्टी नेतृत्व भए पछि पार्टीको हैसियत पनि माथि आएको र ऐतिहासिक कामहरु सरकारले गर्न सकेको भन्दै विरोध गर्दै हिँड्नु गलत हुने तर्क उनको छ । तर, अन्य पक्षका नेताहरुले भने प्रायः निर्णयहरुमा मनपरी ढंगले जनवादी प्रक्रियाभन्दा पनि मनवादी प्रक्रियाबाट पार्टी अध्यक्षले आफ्ना मान्छेहरुका लागि निर्णय गर्ने गरेको अन्य पक्षको आरोप छ ।
माधव नेपाललाई वाईपास
अहिले स्पष्ट एमालेको एउटा धुरी माधव नेपाल छन् । स्वभाविक पार्टीमा लामो समय नेतृत्व गरेका र फेरि नवौं महाधिवेशनको अध्यक्षको प्रत्यासी भएका कारण पनि उनको नेतृत्वमा एउटा बलियो केन्द्र छ एमालेमा । विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार भनेर प्रचारमा आएपछि मात्रै जानकारी पाएका माधवकुमार नेपाल अहिले पनि विदेश विभागको प्रमुख छन् । चीन, भारतसहित विभिन्न मुलुकमा जति पनि नेता कार्यकर्ता गइरहेका छन्, ती सबैको जानकारी माधव नेपाललाई नदिने गरेको सो समूहको भनाई छ । विदेश विभाग प्रमुखलाई नै जानकारी नदिई विदेश भ्रमणमा पार्टी नेता पठाउने अध्यक्षको यो के तरिका हो ? यो प्रश्न जारी केन्द्रीय समितिमा निकै पेचिलो तरिकाले माधव नेपाल पक्षले उठाएको छ । यसलाई महाधिवेशनमा खुलेर नलागेका पूर्वप्रधानमन्त्री तथा अध्यक्ष झलनाथ खनालले पनि साथ दिएका छन् ।
अझ अर्को कुरा झण्डै २ सातादेखि बसिरहेको पोलिटव्यूरो तथा केन्द्रीय समितिको बैठकमा माधवकुमार नेपाललाई बोल्ने समयसमेत नदिई अध्यक्ष ओलीले बैठक समाप्तिको घोषणा गर्न खोजे पछि यो पक्ष अझ आक्रोशित बनेको हो । माधव नेपाल पक्षले अहिले अनौपचारिक छलफल गर्दै पार्टी भित्र अध्यक्षले गरेको गुटबन्दी रोक्न भन्दै नयाँ तरिकाले जाने सोच बनाएको नेपाल पक्षका एक नेताले बताएका छन् । यस विषयमा नेता लालबाबु पण्डितले पार्टी संस्थागत र पद्धतिसंगत तरिकाले चल्नु पर्ने बताए । तर, अर्का नेता केशव बडाल, माधव नेपाल पक्षले उठाएको तर्कको खण्डन गर्दै भन्छन्– ‘विदेश विभाग समेत निस्क्रिय छ, यसले नीति बनाउने हो, निर्णयमा भूमिका खोजेर बस्ने हो ? आफ्नो मान्छे परेन भन्दैमा विरोध गर्नुको अर्थ छैन ।’
बामदेव भए गुमनाम
बुटवलमा भएको पार्टीको आठौं महाधिवेशनमा विभिन्न कारणले पुग्न नसके पनि बामदेव गौतमले उपाध्यक्ष पद जीत्न सफल भएका थिए । उनी सो समयमा झलनाथ खनाल पक्षमा थिए । जुन बेला माधव नेपालको समेत समर्थनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा चुनाव लड्दा पराजीत भएका थिए । बामदेव गौतम समूहमा केही सक्रिय युवा नेताहरु रहेको र उनीहरुको प्रभाव देखे पछि बिस्तारै केपी शर्मा ओलीले उनलाई हातमा लिए । ओली निवास बालकोट र गौतम निवास भैँसेपाटीमा दुई नेताको पटक पटकको लामो वार्ता पछि केही सहमति गरेर बामदेव गौतम ओली समूहमा लागेका थिए र उनले चुनाव जिताएर पनि देखाए नवौं महाधिवेशनमा । उच्च स्रोतका अनुसार यो सम्झौता नवौं महाधिवेशन अघि गौतम निवास भैँसेपाटीमा भएको थियो । जसअनुसार नवौं महाधिवेशनमा पार्टी अध्यक्ष ओलीलाई बनाउने र गौतमलाई बरिष्ठ उपाध्यक्ष बनाउने । त्यस पछि दशौं महाधिशेनमा ओली बरिष्ठ नेता रहेर बामदेव गौतमलाई पार्टी अध्यक्ष बनाउने सहमति उनीहरुबीचमा भएको थियो । मन्त्री हुँदा नहुँदा पनि सार्वजनिक कार्यक्रममा बोलिनै रहने गौतम आजभोलि गुमनाम जस्तो देखिन थालेका छन् । उनलाई खासमा प्रधानमन्त्री ओली भएपछि कार्यबाहक अध्यक्ष नदिएकोमा ठूलो गुनासो बढेको बुझिएको छ । चैत्र ३० गतेयता केन्द्रीय समितिको बैठक छाडेर गौतम जिल्लातिर निस्किएका छन् । उनलाई सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन । बुझिएअनुसार गौतमले अहिले चुपचाप रहेर पनि भए पनि आगामी महाधिबेशनमा बचन पूरा गरेर आपूmलाई अध्यक्ष बनाउने विषयमा ओली लाग्छन्, लाग्दैनन् त्यो प्रतिक्षा गरेका छन् । ओलीले पनि गौतमबारे खासै टिप्पणी नगरेको एक नेताले बताए । एमाले भित्रको यो बढ्दो दूरी र धुरीले फेरि राष्ट्रिय राजनीतिमा कुनै प्रभाव नपरोस् भन्ने धेरैको सुभेच्छा देखिन्छ । नेताहरुले बेलैमा सकारात्मक तरिकाले सोच बनाउनु उपयुक्त हुने कार्यकर्ता पंक्तिको सुझाव छ । – सिर्जना तिम्सिना

प्रतिक्रियाहरु