अोलीको सत्तामा रहिरहने नैतिक आधार समाप्त : भट्टराई

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौ, ३० चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएकाले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ सत्तामा रहिरहने नैतिक आधार नभएको बताएका छन्। आज जनकपुरघाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताए।
एक प्रश्नको जवाफमा उनले मधेसका मुद्दाको सम्बोधन विगतमा भएको सहमति र सम्झौता, आयोग र संविधानसभाको समितिको सुझावका आधारमा गरेर संविधान संशोधन गरे समाधानको उपाय हुनसक्ने बताए । उनले मधेस आन्दोलनलाई मधेसमा नै केन्द्रित नराखी राष्ट्रिय स्वरूप दिनु जरुरी छ भन्दै यसका लागि मधेसी, थारु, आदिवासी, जनजाति, खस र आर्यबीच एकताको आवश्यतामा जोड दिए।
नेपालको सभ्यता, संस्कृतिमा मधेस महत्वपूर्ण रहेको चर्चा गर्दै उनले मधेसलाई टुक्र्याउने सोच कसैले राख्न हुने बताए। उनले पुरानो राजनीति र यथास्थितिवादको जगमा मुलुकको विकास हुन सक्दैन भन्दै नयाँ चिन्तन र शक्तिले राष्ट्रलाई समृद्धि बनाउन अग्रसर हुनुपर्ने उल्लेख गरे।

प्रतिक्रियाहरु