ओली र प्रचण्डबीच पानी बाराबार

२०७२ चैत्र ६ गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालमा भएको भद्र सहमति तोडेपछि प्रचण्डले सरकारको क्रियाकलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसै क्रममा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व ओली वा कांग्रेसले पनि गर्न सक्ने अभिव्यक्ति दिए । यसपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच थप चिसोपन आएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो चरणमा सर्वाेच्चमा न्यायाधीश सिफारिस सत्ता साझेदार दलसँग कुनै परामर्श नै नगरेकोप्रति प्रचण्ड थप रुष्ट बनेका छन् । न्यायपरिषद्ले एमालेका पूर्व सांसद सपना प्रधान मल्ललगायतको व्यक्तिलाई सर्वाेच्च अदालतको न्यायाधीसमा सिफारिस गर्ने बारेमा पनि एमाओवादीसंग कुनै सल्लाह नगरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेको हुन् । प्रचण्डले एमालेले अनावश्यक रुपमा सभामुख ओनसरी घर्तीलाई विवादमा मुछ्ने काम गरेकोप्रति आपत्ति जनाएका छन् । सार्वजनिक रुपमा यस विषयमा नबोले पनि प्रचण्डले पार्टीको स्थायी समितिको बैठकमा ओलीले जबरजस्ती रुपमा सरकार चलाउन खोजेको बताएका छन् । हरेक विषयमा समझदारी कायम गर्न नसकेपछि खास खास मुद्दामा छलफल र समझदारी गर्नुपर्ने हो तर ओलीजी एकतर्फी रुपमा दौडिरहनुभएको छ, यो दौडाइले उहाँलाई कहाँसम्म पु¥याउने हो थाहा छैन भन्दै प्रचन्डले स्थायी समितिको बैठकमा ओली राष्ट्रिय सहमतिको कुरा गर्दा सबैभन्दा बढी रिसाएको सुनाएको स्रोतको दाबी छ ।
यसैगरी, चीन भ्रमणको एजेण्डा तय गर्दा एमाओवादीलाई पाखा लगाइएको र आफ्नो पार्टी तथा मन्त्रालयबाट हरसम्भव पहल भैरहेको इन्धन आपुर्ति सम्झौताको एजेण्डा प्रधानमन्त्री ओलीले पन्छाइदिएपछि प्रचण्ड अव सरकार छोड्ने निष्कर्षमा पुगेको स्रोतले बताएकोछ । भारतले पाँच महिनासम्म नाकाबन्दी गरेपछि प्रचण्डले चिनियाँ राजदुत बु चिन्ताईलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर इन्धन ल्याउने विषयमा पहल गरिदिने आग्रह गरेका थिए । प्रचण्डको प्रस्तावलाई चीनले सकारात्मक रुपमा पनि लियो । प्रचण्डले सरकारी कर्मचारी जाँदा कुरो बिग्रने भएपछि आपूर्ति मन्त्री गणेशमान पुनलाई नै चीन पठाए । कसैलाई पत्तो नै नदिई चिनियाँ अधिकारीहरुसँग छलफल गरेर इन्धन सम्झौता गर्ने प्रक्रिया पुनले अगाडि बढाए । इन्धन ल्याउने बारेमा कामभन्दा पनि कुरा धेरै भएपछि ओलीको चीन भ्रमणको क्रममा इन्धन सम्झौता हुने ठूलो आशा र विश्वास गरिएको थियो । तर, चीन भ्रमणको टोलीमा रहेका आपूर्ति मन्त्रीको नाम मात्र हटेन चीन भ्रमणको एजेण्डाबाट इन्धन सम्झौताको एजेण्डा पनि हटेपछि प्रचण्ड ठूलो तनाबमा परेका छन् । एमाओवादीले चीन भ्रमणको क्रममा इन्धन सम्झौता नभए सरकारबाट बाहिरिनेसम्मको तयारी थालेको स्रोत बताउँछ ।
भारत ओलीको सरकार ढाल्न चाहन्छ । त्यसको लागि अहिले सबैभन्दा भरपर्दाे पार्टी एमाओवादी हो । एमाओवादी सरकारबाट बाहिरिने वित्तिकै मधेसी मोर्चा र कांग्रेस गर्दा बहुमत पुग्ने देखिन्छ । भारत पनि प्रचण्ड र ओलीको सम्बन्धमा फाटो ल्याएर सरकार ढाल्ने रणनीतिमा छ । पछिल्लो समयमा ओली भारतबाट फार्किपछि सरकारले गरेको निर्णयले गर्दा भारतको प्लान पनि क्रमशः पुरा हुँदै गएका देखिन्छ । ओलीले प्रचण्डलाई विश्वासमा लिएर काम गर्ने भन्दा पनि एकलौटी रुपमा निर्णय गर्दै अगाडि बढीरहेका छन् । प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव एस जयशंकर र विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेपछि इन्धन सम्झौताको एजेण्डा सेलाएको एमाओवादी स्थायी समिति बैठकले निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री ओली भारतबाट फर्किएपछि सत्तासाझेदार दललाई भ्रमणको बारेमा बिफ्रिङ गर्ने क्रममा बालुटार छिरेका प्रचण्ड त्यसयता बालुटार गएका छैनन् । चीन भ्रमणको लागि ओलीले पूर्व प्रधानमन्त्रीहरुलाई बोलाए पनि त्यस दिन प्रचण्ड सिराहमा थिए । त्यसपछि पनि चीन भ्रमणको बारेमा ओलीले प्रचण्डसंग छलफल गर्न आवश्यक ठानेनन् वा प्रचण्ड रिसाएर वालुटार गएनन् यो विषय निकै गम्भीर बन्न पुगेको छ । सरकार गठन गरेपछि दिनहुँजसो भेटवार्ता र छलफलमा जुटने ओली र प्रचण्डको बीचमा आएको फाटोले कतै सरकार नै धरापमा पर्ने त होइन भन्ने चर्चा पनि वालुवाटारमा चल्न थालेको छ । तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्नको लागि ओलीले प्रचण्डको नेतृत्वका रहेको उच्चस्तरीय राजनीतिक समितिलाई जिम्मेवारी दिएका थिए । तर पछिल्लो चरणमा ओलीले नै मधेसी मोर्चासँग छलफल गरिरहेका छन् । ओलीको व्यवहारको कारण प्रचण्ड दिनप्रतिदिन चिढिएका छन् । ओलीको ब्यवहार यस्तै रहे सरकार छोड्ने मनस्थितिमा प्रचण्ड पुगेका छन् । ओलीले भारतीय शुत्रहरुसँगको भेटवार्तापछि एमाओवादीले साथ नदिए कांग्रेसलाई साथ लिन सकिने आत्म विश्वासका कारण प्रचण्डलाई अण्डरमाइन गर्न थालेपछि अव यो सरकारमा लामो समय बस्न नसकिने मनस्थितिमा प्रचण्ड पुगेको स्रोतको ठोकुवा छ ।

प्रतिक्रियाहरु