जनयुद्धको उद्देश्य पूरा गरेरै छाड्ने माओवादीको उदघोष

२०७२ फाल्गुन १ गते, शनिबार

काठमाडौं, १ फागुन । नेकपा माओवादीले २१ औं जनयुद्ध दिवसका अवसरमा देशभर बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उसले जनयुद्धको उद्देश्य पूरा गरेरै छाड्ने उद्घोष गरेको छ । यसैक्रममा माओवादीले राजधानीमा रातो टिशर्टधारी हजारौ युवाहरुको प्रदर्शन गरेको थियो । माओवादीले राजधानीको रत्नपार्क वरिपरिका क्षेत्रमा प्रदर्शन गरी शान्तिबाटिकामा जनसभा गरेको हो । बिगतदेखि नै माओवादीले जनयुद्ध सुरुवात गरिएको दिनलाई आफ्नो विशेष दिनका रुपमा मनाउँदै आएको छ । सशस्त्र जनयुद्ध शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको भए पनि माओवादीले अहिले पनि जनयुद्धको उद्देश्य पूरा नभएको र त्यसलाई पूरा गरेरै छाड्ने अठोट गर्दै आएको छ । माओवादीले निकालेको जुलुसमा जनयुद्ध जारी रहेको, सहिदका सपना पूरा गरेरै छाड्ने लगायतका नारा लगाएका थिए । राजधानीको शान्तिबाटिकाबाट सुरु भएको जुलुस जमल, घन्टाघर, कमलादी, पुतलीसडक, पदमोदय मोड, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै शान्तिबाटिकामा गएर सभामा परिणत भएको थियो ।
फागुन १ गते नेपालमा तत्कालीन नेकपा (माओवादी)ले शसस्त्र युद्ध शुरु गरेको थियो । जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरु गरिएको जनयुद्ध राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पछि भने अन्त्य भएको थियो । यस सगै जनयुद्ध सञ्चालन गर्ने माओवादी पार्टी विभिन्न चरणमा विभाजन भईसकेको छ ।
यसरी विभाजन भएर बनेको नेकपा माओवादीले २१ औं जनयुद्ध दिवसको अवसरमा राजधानीमा युवाशक्तिको मार्चपास सहित विशेष कार्यक्रमको आयोजना गरेको हो । माओवादीले राजधानीका विभिन्न स्थानबाट शुरु भएको युवाहरुको मार्चपास पछि शान्ति बाटीकामा सभाको आयोजना गरेको थियो । सो सभालाई संवोधन गर्दे नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले जनयुद्धको लक्ष्य अझै पुरा नभएको भन्दै माओवादी आन्दोलन अझ शसक्त बनाउनु पर्ने आवस्यकता रहेको बताएका थिए । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुराम सहितका नेताहरुले धोका दिएको भन्दै उनले अब माओवादी आन्दोलन अघि बढाउन नया तरीकाले अघि बढ्नु पर्ने खॉचो रहेको ठोकुवा गरे ।
यसैबीच नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनयुद्ध विदसको सन्दर्भमा एक वक्तव्य दिदै जनताको सत्ता स्थापना गर्ने क्रान्ति पूरा गर्न संकल्प गर्न आग्रह गरेका छन । उनले वक्तव्यमा संसदीय व्यवस्था र भारतीय हस्तक्षेपका विरुद्ध देशभक्त, वामपन्थी, राष्ट्रवादी, क्रान्तिकारीहरु एकजुट हुनु आवस्यक रहेकोमा जोड दिएका छन ।

प्रतिक्रियाहरु