डेढ लाख मानिस काठमाडौंबाट बाहिरिए

२०७२ बैशाख १६ गते, बुधबार

काठमाडौं, १६ बैशाख । आज काठमाडौंबाट झन्डै डेढ लाख मानिस विभिन्न जिल्लातर्फ बाहिरिएका छन । मंगलबार बेलुका ६ बजेसम्म उपत्यकाका फर्पिङ, भक्तपुर र नागढुंगा नाकाबाट एक लाख ३२ हजार भन्दा बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए ।
बुधबारकालागि विभिन्न बस कम्पनीले सयौं बस व्यवस्था गरेकाले यो संख्या झण्डै दोब्बर हुने उनले उल्लेख गरे । सोमबार उपत्यकाबाट ८५ हजार ६ सय २९ जना बाहिरिएका थिए । महाशाखाका अनुसार सबैखाले सवारीसाधन गरी मंगलबार ६ हजार ८८ वटा सवारी साधन बाहिरिएका छन् ।
प्रहरी नायब महानिरीक्षक चन्दका अनुसार मंगलबारका लागि पश्चिमाञ्चल बस व्यवसायी संघले दुई सय भन्दा बढी बस, उच्च माध्यमिक विद्यालय हिसानले करिब पाँच सय वटा बसको व्यवस्था गरेका छन् ।
यसैबीच , काठमाडौँस्थित ठाडो भर्‍याङ क्षेत्रबाट हालसम्म ५५ जनाको जीवितै उद्धार गरिएको छ। सो स्थानबाट ४८ जनाको शव निकालिएको छ ।
यहाँको जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त सङ्ख्यामा उद्धार गरिएको उद्धार टोलीले जनाएका छन् । ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ । उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ।
यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्धार कार्यलाई जारी राखिएको बताए । उनले ठूला भवन एकै स्थानमा रहेको र ठूलो सङ्ख्यामा मानिस भेला हुने सहकारी, चर्च र रेष्टुराँ एउटै लाइनमा रहेकाले पनि हताहत हुनेको सङ्ख्या बढी भएको बताए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार