सगरमाथा सरसफाइको हिसाब माग्न अख्तियारमा उजुरी

२०७० माघ १५ गते, बुधबार

काठमाडौँ,१५ माघ । सगरमाथा आरोही सङ्घ र इको हिमालले संयुक्तरुपमा गरेको सगरमाथा सफाइ अभियानमा खर्च भएको रकमको पारदर्शीताको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिर्ता भएको छ । सन् २०११ मा गरिएको सरसफाइ अभियानमा मनोमानी ढङ्गबाट खर्च भएको र पारदर्शी हिसाब नदेखाई अनियमितता गरेको आरोपसहित सगरमाथा आरोही तथा सरोकारवालाले संयुक्त उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा सरसफाइ अभियान आयोजक संस्था सगरमाथा आरोही सङ्घले जुटाएको रकम र खर्चको स्पष्ट हिसाब नराखेकाले आवश्यक छानबिन गरी कारबाही माग गरिएको छ । उजुरीमा युरोपेली युनियनबाट आठ करोड, स्विडेनको लटरी क्लबबाट तीन करोड, नेपाल सरकारबाट ८० लाख, नेपाल पर्वतारोहण सङ्घबाट २० लाख र अन्य सङ्घसंस्थाबाट एक करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको उल्लेख छ । यो रकम आरोही सङ्घका अध्यक्ष वाङचु शेर्पा र महासचिव दिवस पोखरेलले अनियमित ढङ्गले खर्च गरेको र हिसाब पारदर्शी नबनाएको आरोप छ ।
सगरमाथा सरसफाइ अभियान सञ्चालन गर्न आर्थिक वर्ष २०६७/६८ मा ७० लाख र २०६८/६९ मा पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयले आरोही सङ्घलाई दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सहप्रवक्ता केशवप्रसाद विमलीले सङ्घले मन्त्रालयबाट लिएको रकमको सामान्य प्रतिवेदनबाहेक कुनै हिसाब नबुझाएको बताए ।
आरोही सङ्घले विभिन्न सङ्घसंस्थाबाट आएको प्रतिबद्धताको रकमसहित सम्पूर्ण आम्दानी र खर्चको हिसाब पर्यटन मन्त्रालयमा बुझाउन सङ्घ र मन्त्रालयबीच सहमति भएको थियो । लेखापरीक्षण रिपोर्ट मन्त्रालयमा बुझाउनुपर्ने सहमति पालना नभएको मन्त्रालयले जनाएको छ ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष जिब्बाजाङबु शेर्पाले आरोही सङ्घले लगेको २० लाख रुपैयाँको सामान्य प्रतिवेदनबाहेक आर्थिक हिसाबकिताब पेस नगरेको जानकारी दिए । सङ्घले हिमालको फोटो, फोहोर तथा अन्य विवरण राखेको प्रतिवेदन मात्रै दिएको उनले वताए । सगरमाथा आरोही सङ्घका अध्यक्ष वाङचु शेर्पाले भने दुईवर्ष अगाडिको काम भएकाले अहिले यो विषयले कुनै सरोकार नराख्ने बताए । सम्पन्न भइसकेको कार्यक्रमबारे अख्तियारमा उजुरी पर्नु र हिसाब माग्नुले कुनै अर्थ नराख्ने उनको भनाइ छ ।
सगरमाथा सरसफाइको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले सगरमाथाको फोहोरलाई मागिखाने भाँडो बनाइरहेको भन्दै अगुवाहरुले पटकपटक विरोध गर्दै आएका छन् । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु