अर्को जनआन्दोलन अपरिहार्य : किरण

२०७० माघ १३ गते, सोमबार


काठमाडौं, १३ माघ ।नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपाली राजनीतिक
अस्तव्यस्तताको निकास अब आन्दोलनबाट मात्र हुनसक्ने बताएका छन् । संसदीय
व्यवस्था असफल भइसकेको विश्लेषण गर्दै अध्यक्ष किरणले संविधानसभाबाट कुनै
पनि निकास निकास निस्कन नसक्ने दावी समेत गरेका छन् ।
नवलपरासीको चौधरी उद्योगग्राममा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर
संघको केन्द्रीय समितिलाई प्रशिक्षण दिँदै अध्यक्ष किरणले सो कुरा बताएका
हुन् । उनले संविधानसभाबाट संविधान जारी हुन नसक्ने र कुनै राजनीतिक
निकास पनि निस्कन नसक्ने बताउँदै नेपाली जनताले बाध्य भएर फेरि अर्को
जनआन्दोलन उठान गर्नुपर्ने स्थिति झन् मजबुत बन्दै गएको बताए । त्यो
आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गर्दै किरणले त्यसका लागि
अग्रगामी भूमिका निर्वाह गर्न पनि औद्योगिक मजदुरहरुलाई आग्रह गरे । अबको
आन्दोलनमा मजदुरहरुको अग्रगामी राजनीतिक भूमिका र किसानहरुको आधारभूत
भूमिका रहने विश्वास व्यक्त गर्दै किरणले अब मजदुरहरुले पेशागत र
राजनीतिक संघर्ष दुबैलाई एकसाथ जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै
नेपाली मजदुरहरुले अहिले ट्रेड युनियनवाद र अर्थवादका विरुद्ध सशक्त
संघर्ष पनि गर्नुपरिरहेको बताए ।
त्यसैगरी औद्योगिक मजदुरहरुको केन्द्रीय समितिलाई प्रशिक्षण दिँदै
नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड
युनियन महासंघका केन्द्रीय संयोजक रामदिप आचार्यले नेपालका
प्रतिक्रियावादी वर्गले जनताका निम्ति आन्दोलन रोज्न बाध्य पारिरहेको
बताए । अबको आन्दोलनमा मजदुरहरुले आफ्नो अग्रभागीय भूमिका निर्वाह गर्ने
बताउँदै आचार्यले अहिले देशैभरका मजदुरहरुका बीच आफूले छलफल चलाइरहेको
बताए । औद्योगिक मजदुर संघका संयोजक गंगा बस्नेतको अध्यक्षतामा बसेको
बैठकमा संगठनको केन्द्रीय सचिवालयले गरेका निर्णयहरु जानकारी गराउँदै
आचार्यले सुदृढ संगठन र जुझारु संघर्ष गर्नका निम्ति निर्देशन गर्नुपर्ने
बताए ।
संघको केन्द्रीय समितिको बैठकले चार महिनापछि राष्ट्रिय सम्मेलन गर्ने
निर्णय गरेको छ । साथै संगठनलाई सुदृढ गर्ने र औद्योगिक मजदुरहरुका हक,
हीत र अधिकारका लागि सशक्त आन्दोलनको उठान गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच महासंघका संयोजक रामदिप आचार्यले अहिले आफूहरुले देशव्यापी रुपमा
संगठन सुदृढ गर्ने अभियानमा सक्रिय रहेको जानकारी दिएका छन् ।
क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्पूर्ण मजदुरहरुको आशा र भरोसाको
केन्द्र भएको बताउँदै संयोजक आचार्यले अब मजदुरहरुका हक, हीत र अधिकारका
लागि सम्पूर्ण औद्योगिक प्रतिष्ठानमा आन्दोलन थाल्ने बताए । त्यसका लागि
देशभरीका मजदुरहरुसँग छलफल चलाउने र मजदुरहरुले अहिले भोग्नु परिरहेका
समस्याहरुका विषयमा अध्ययन गर्ने बताउँदै उनले सोही अभियान अन्तर्गत
औद्योगिक मजदुरहरुको केन्द्रीय समितिको बैठक चौधरी उद्योगग्राममा गरिएको
बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु