फेवातालका डुंगा ब्याबसायी आन्दोलित

२०७० जेष्ठ २४ गते, शुक्रबार

पोखरा, जेठ २४ – पोखराको फेवातालका डुंगा व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।जिल्ला विकास समिति कास्कीले फेवातालमा डुंगा संचालनका लागि टेण्डर आव्हान गरेको विरोधमा व्यवसायी आन्दोलित बनेका हुन् । व्यवयासीको आन्दोलनका कारण फेवातालमा चल्ने ७ सय ९ वटा डुंगा ताल किनारामै रोकिएका छन् ।
डुंगा नचल्दा तालबाराही मन्दिर दर्शन गर्न पोखरा आएका सयौं देशी विदेशी भक्तजन तथा पर्यटकहरु मर्कामा परेका छन् ।यसअघि जिल्ला विकास समिति कास्कीले फेवातालमा चल्ने डुंगाबाट प्रत्येक क्यूमा ५ रुपैयाँ रकम उठाउँदै आएपनि व्यवसायीलाई विना जानकारी टेण्डर खोलिएकाले आन्दोलनमा उत्रिनुपरेको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।
जिल्ला विकास समितिको निर्णयको विरोधमा डुंगा व्यवसायी र लेकसाइड क्लबले संयुक्त रुपमा आन्दोलन घोषणा गरी अनिश्चितकालिन डुंगा बन्द गरिएको उनले बताए ।
जिल्ला विकास सिमितले गोप्य रुपमा आव्हान गरिएको टेण्डर प्रक्रिया रद्द गरी सार्वजनिक रुपमा टेण्डर आव्हान गर्नुपर्ने लेकसाइड युवा क्लवका उपाध्यक्ष सोभियत परियारले बताए ।डुंगा व्यवसायी र क्लबका सदस्यहरुले तत्काल टेण्डर प्रक्रिया रद्द नगरे कास्कीका सबै तालमा डुंगा चल्न नदिने जिल्ला विकास समिती, जिल्ला प्रशासन कार्यालय र पोखरा उपमहानगरपालिकालाई चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु