हवाई उडान र सीमानाका साउन ७ सम्म बन्द

२०७७ असार १६ गते, मंगलवार

काठमाडाैं, १६ असार । गएराति राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निणय गरेको छ । यस निर्णयसंगै हवाई उडान र सीमा बन्द साउन ७ गते सम्म कायम रहने छ ।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।
जिमखाना, सपिङ मल, खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न प्रतिबन्ध लगाइएको छ । सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको छैन भने शिक्षण संस्थाहरु खोल्न निषेध गरिएको छ ।
सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको छ ।

प्रतिक्रियाहरु