सेयर बजार खुल्दै

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं, १० जेठ । गत बैशाख १२ गते गएको भूकम्प पछि बन्द भएको शेयर बजार आजवाट खुल्दैछ। शेयर बजार खुलेसँगै अब बजार कति घट्ला भन्ने अड्कल र चिन्ता आमलगानीकर्तामा व्याप्त भएको देखिन्छ । अहिले सेयर बजारमा लगानी गरिरहेका पुस्ताले राजनीतिक उतारचढाव बेस्सरी देखेको र भोगेको भए पनि यति ठूलो प्राकृत्तिक विपत्तिको सामना गर्नुपरेको भने यो पहिलो पटक हो। महाभूकम्पले अर्थतन्त्रमा नराम्रो धक्का लागेको छ। कुल अर्थतन्त्रको २५ देखि ३० प्रतिशतसम्म भूकम्पले क्षति पु:याएको प्रारम्भिक आँकलन छ। यो सँगै आमलगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर परेको छ। यसले पक्कै पनि लगानीकर्ताको आत्मबल केही घटाएको छ। तर, यस्तो नकारात्मक मनोविज्ञानले लामो समयसम्म काम नगर्ने सेयर बजारका विश्लेषक र लगानीकर्ताको ठम्याइ छ। हाम्रो सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको वर्चस्व छ। यसबाहेक बिमा, होटेल र जलविद्युत कम्पनीको उपस्थिति पनि बढ्दोक्रममा छ। बैकिङ समूहमा हुने उतारचढावले बजारको आगामी बाटो तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ। भूकम्पले तत्कालका लागि बैंकिङ क्षेत्रको मुनाफामा केही असर पुर्‍याउने देखिन्छ।
विशेषगरी रियल स्टेटमा बैंकले गरेका लगानीको अवस्था र पुर्‍याएको क्षतिको वास्तविक अंक सार्वजनिक भएको छैन। व्यक्तिगत घर, हाउजिङ तथा अपार्टमेन्टमा बैंकले गरेको ऋण लगानीमा बिमा गरिने भएकाले क्षतिको पूरै अंश बैंकले व्यहोर्नु पर्दैन। तत्कालका लागि बैंकको मुनाफामा असर गरे पनि आगामी दिनमा ऋण लगानीमा बिमा गर्ने प्रचलन बढ्ने भएकाले दीर्घकालमा बैंकको नाफा बढ्न सक्छ। भूकम्पले अन्य समूहका तुलनामा बिमा त्यसमा पनि निर्जीवन बिमा कम्पनीलाई अलि बढी असर गर्ने अवस्था छ। सेयर बजारमा कारोबार भएपछि केही दिनसम्म बिमा कम्पनीको सेयरमा बिक्री चाप बढ्ने विश्लेषक बताउँछन्। जीवन बिमा गरेका सबैको भुक्तानीका लागि दाबी प्राप्त भइनसकेको अवस्था छ। बिमा गरेका कति व्यक्तिले भूकम्पमा ज्यान गुमाए भन्ने यकिन विवरण आएपछि त्यसको वास्तविक प्रभाव पुँजी बजारमा देखिनेछ।
यसैगरी, पर्यटन उद्योगमा भूकम्पले असर गरेकाले होटेल समूहको सेयरमा केही समय बिक्री चाप बढ्ने अवस्था छ। बजारमा अल्पकालमा नकारात्मक असर गरे पनि एउटा निश्चित बिन्दुमा ओर्लिएपछि सेयरको माग बढ्न गई पुन: बढ्न थाल्ने भएकाले लगानीकर्ताको धैर्यता र आत्मविश्वास बढी महत्त्वपूर्ण हुन्छ।
विगतमा राम्रो लाभांश बाँडेका कम्पनीमा लगानी गरेकाहरू आत्तिनु आवश्यक छैन। ती कम्पनीले दिने लाभांशले अहिलेको अवस्थामा बैंकमा राखिने निक्षेपभन्दा अझ बढी नै छ। हाथवे इन्भेस्टमेन्ट प्रालिका प्रबन्धनिर्देशक अम्बिका पौड्याल यतिबेला लगानीकर्तामा धैर्यता र सुझबुझको आवश्यकता रहेको बताउँछन्। बजार केही दिन घटेपनि केही समयपछि फेरि क्रेताको चाप पर्ने भएकाले राम्रा कम्पनीमा लगानी गरेकाले होल्ड गर्नु उपयुक्त हुने उनी सुझाव दिन्छन्। भूकम्पले नकारात्मक पाटोमात्रै देखाएको छैन। सम्भावना पनि बोकेर आएको छ। पुनर्निमार्णका लागि खर्बौं रुपैयाँ आवश्यक पर्ने भएकाले बैंकलाई आगामी दिनमा लगानी समस्या हुनेछैन। पर्याप्त लगानी अवसर पाउँदा मुनफा बढाउने अवसर प्राप्त हुनेछ। यसको फाइदा लगानीकर्तासम्म आइपुग्छ। यसैगरी, भूकम्पले सर्वसाधारणलाई आफ्नो सम्पति र स्वंयको समेत बिमा गर्नुपर्ने रहेछ भन्ने सिकाएको छ। आगामी दिनमा जीवन र निर्जीवन दुवै क्षेत्रमा बिमा गर्नेहरू बढ्ने भएकाले बिमा व्यवसाय निकै फस्टाउने निश्चित छ। यसको फाइदा बिमा कम्पनीका सेयर किन्ने लगानीकर्ताले नै पाउनेछन्। पर्यटन क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउने पहल सुरु भइसकेकाले केही समयपछि होटेलको अवस्था सुध्रिने अपेक्षा गर्न सकिन्छ।
नेपाल इन्भेस्टर्स फोरमका सदस्य राजन लम्साल भूकम्पले विपत्तिसहित सम्भावनासमेत सँगसँगै ल्याएको बताउँछन्। ‘अहिले राजनीतिक दलबीच सहमतिको वातावरण बनिरहेको छ। यसले संविधान जारी हुने, प्रमुख आर्थिक मुद्दामा सहमति भई लगानी वातावरण बन्ने सम्भावना बढेको छ,’ उनी भन्छन्। पुननिर्माणका नाम आएका वैदेशिक सहायता परिचालन हुन सकेमा आर्थिक विकासले फड्को मार्न सक्ने सम्भावना पनि उत्तिकै छ। यी कारणले लगानीकर्ताले हतारमा निर्णय लिनुभन्दा घटनाक्रम र अवस्थाको विश्लेषण गरी सुझबुझका साथ सेयर खरिदबिक्री गर्नु उपयुक्त हुनसक्छ। घटबढ हुनु सेयर बजारको सिद्धान्त हो। मुलुकमा यति ठूलो प्राकृतिक विपत्ति आउँदा निश्चय पनि बजार केही घट्छ। यो बजारको नियम पनि हो। तर घटेपछि फेरि बढ्छ भन्ने तथ्यलाई लगानीकर्ताले बिर्सनु हुँदैन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार