सात बिद्यार्थी संगठनद्वारा मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग

२०७५ बैशाख २२ गते, शनिबार

काठमाण्डौ , २१ वैशाख । अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यलय बागवजारमा बसेको सात बिद्यार्थी संगठनको संयुक्त बैठकले जनताको ढाड सेक्नेगरी सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरुले नेपाल आयल निगममा भएको चुहावट र भ्रष्टाचार नियन्त्रण नगरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका हुन् ।
निजी शैक्षिक संस्थामा भएको शुल्क वृद्धि फिर्ताको माग गर्दै प्रिमियर स्कुलमा गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि अनेरास्ववियू (पाचौं)का अध्यक्ष घनश्याम मिश्र र अखिल (क्रान्तिकारी) का गोविन्द विष्ट र प्रकाश वि.क लाई पक्राउ गरेको घटनाप्रति पनि पनि बैठकले आपत्ती जनाएको छ । बैठकले दलाल सरकारको सर्वसत्तावादी अभ्यास विरुद्ध सशक्त रुपमा आन्दोलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
साथै संयुक्त तालाबन्दीको क्रममा पक्राउ परेका अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य वीरेन्द्र शाहलाई प्रहरी प्रशासनले गिरफ्तार गरेको घटनाप्रति आपत्ती जनाउदै तत्काल रिहा गर्न पनि माग गरेको छ ।
यस्तै कञ्चनपुरमा भारतीय सुरक्षा बलले गरेको सिमा अतिक्रमणको बिरोध गर्दा अनेरास्ववीयू (क्रान्तिकारी) का राम बहादुर महरा र तारा पन्त लगायत गिरफ्तार ११ जनाको रिहाईको पनि माग गरेको छ ।
यस्तै आंशिक प्राध्यापकको आन्दोलनको कारण त्रि.वि. मा अवरोध भएको पढाई सन्चालन गर्न माग गर्दा नयाँ शक्ति विद्यार्थी यूनियनका सचिव हेमराज थापा लगायतलाई पक्राउ गरिएको घटनाप्रति बिरोध गर्दै तत्काल अबरोध पढाई सुचारु गराउन पनि बैठकले माग गरेको छ ।
बैठकपछि अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियू(पाँचौ) का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विवेक राई, अखिल ( क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्वाङ, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले संयुक्त विज्ञप्ती निकालेर आफुहरुका माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु