सन् २०१८ सम्म पोलियो उन्मूलन गरिने

२०७० चैत्र २७ गते, बिहीबार


काठमाडौँ, २७ चैत ।सरकारले सन् २०१८ सम्म नेपालबाट पोलियो उन्मूलन गर्ने गरी रणनीति तयार गरेको छ ।विश्व स्वास्थ्य संगठनले नेपाल सहित दक्षिण पूर्वी एशियाका ११ देशलाई पोलियो शून्य प्रमाणिकरण गरेपनि जोखिम कायमै रहेकाले उन्मूलन गर्ने गरी रणनीति तयार गरिएको हो ।रणनीति अन्तर्गत पोलियो थोपा खुवाउने अभियान हटाउनेदेखि पोलियो खोपको एक मात्रा दिने सम्मका कार्यक्रम तय गरिएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवालीका अनुसार नियमीत खोप दिंदै आएका देशभरका १६ हजार खोप केन्द्रका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने पनि रणनीतिमा उल्लेख गरिएको छ ।
पोलियोको खोपका तीन प्रकार मध्ये अहिले मुखबाट खुवार्ईंदै आएका ट्राईभ्यालेन्ट ओरल पोलियो भ्याक्सिन टिओपिभी र बाईभ्यालेन्ट ओरल पोलियो भ्याक्सिन बिओपिभीलाई हटाएर ईन एक्टीभेटेड पोलियो भ्याक्सिन आईओपीभी खोपको एक मात्रा दिईने महाशाखाले जनाएको छ ।
त्यसपछि खोप पनि दिन रोकेर उन्मूलनको घोषणा गरिनेछ ।
नेपाल अहिले पोलियो शून्य प्रमाणिकरण भएपनि एशियाली देशहरु अफगानिस्तान र पाकिस्तान सहित विश्वका ७ वटा देश पोलियोको जोखिममा रहेकाले नेपालले विशेष सतर्कता अपनाई सुरक्षात्मक उपाय अपनाउने सरकारको तयारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु