संवैधानिक परिषद्को बैठक बस्दै

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं , १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ गते अनिवार्य अवकास पाउने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । न्याय परिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्मा बुझाइसकेको छ ।
प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा कम्तिमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधािनक व्यवस्था छ । जोशी र राणाबाहेक अरु न्यायाधीशको उक्त योग्यता पुगेको छैन । परिषद्मा नाम बुझाइएका दुई वरिष्ठतम् न्यायाधीशमध्ये जोशी यसअघि संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्ति हुन् । न्याय परिषद्ले सिफारिस गर्दा वरिष्ठतम् न्यायाधीश जोशीको नाम पहिलो नम्बरमा राखे पनि कैफियतमा ‘यसअघि सुनुवाई समितिबाट अस्वीकृत’ भन्ने बेहोर उल्लेख गरेको छ । त्यही कारण परिषद्ले राणालाई सिफारिस गरी सुनुवाई समितिमा पठाउनुको विकल्प देखिएको छैन ।
सुनुवाई समितिबाट अनुमोदन भएपछि राणालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री सदस्य रहने प्रावधान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु