लुक्ला विमानस्थलमा २०० यात्रु अलपत्र

२०७६ असार ३ गते, मंगलवार

काठमाडौँ, ३ असार । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण नहुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा २०० यात्रु अलपत्र परेका छन् । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान नभरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए ।
खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् । २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् ।
सल्लेरीदेखि खुम्बूपासाङल्हामु गाउँपालिका–१ खारिखोलासम्म यसै वर्ष सडक सञ्जाल पुगेको छ । तर खरिखोलासम्म पुग्नका लागि माप्यदूधकोशीको वडा नं २ र माप्यदूधकोशीकै वडा नं १ जोड्ने दूधकोशी नदीमा पुल नहुँदा सिधा सवारी सम्पर्क टुटेको हो । हिउँदमा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन भए पनि करीब एक महीनायता पानीको बहाव बढेपछि सवारी आवागमनमा समस्या भएको हो ।

प्रतिक्रियाहरु