‘माओवादी केन्द्र ज्युँदै छ’

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन । संयोजक किराँतीले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाउदै आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो टिप्पणी गरेका हुन् । उनले पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादी कित्तामा पलायन भएको ठोकुवा समेत गरेका छन ।
संयोजक किराँतीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतीय शासकसामु निर्लज्ज रुपमा आत्मसमर्पण गरेको बताएका छन । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय भेला आयोजक समिति प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको किराँतीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिति गठन गर्ने र सर्वहारा वर्गको सेवामा माओवादी केन्द्र सँधै सर्मपित भैरहने र समाजवादी व्यवस्था लागु गर्ने प्रतिबद्धता पनि किराँतीले व्यक्त गरे । किराँतीले हिजो एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन् भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह समेत गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु