माओवादीको विस्तारित बैठक बस्दै

२०७१ मंसिर ७ गते, आईतवार


काठमाडौँ , ७ मंसिर– नेकपा–माओवादीको विस्तारित केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज मध्याह्न १२ बजे बुद्धनगरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक सदस्य तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य सहभागी हुनेछन् ।
बैठक हिजैका लागि बोलाइ पनि चन्द पक्षले बहिस्कार गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । संस्थापन पक्ष आफूहरुसँग स्पष्टीकरण सोध्ने नर्णय फिर्ता लिन राजी भएपछि चन्द पक्षसमेत आजको बैठकमा सहभागी हुने भएको छ ।
अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव चन्दबीच शनिबार भएको छलफलमा स्पष्टीकरणको निर्णय फिर्ता लिने सहमति भएको थियो ।
मूल नेतृत्वले स्पष्ट कार्यदिशा अघि सार्न नसकेको र पार्टीलाई अकर्मण्यतामा राखेको भन्दै चन्द पक्षले गत कात्तिक अन्तिम साता कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै अन्तरक्रिया गरेको थियो ।
उक्त अन्तरक्रियालाई फुटवादको संज्ञा दिँदै संस्थापन पक्षले चन्द र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकसँग लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरण सोधिएपछि आक्रोशित भनेको चन्द पक्षले आफूहरुसँग स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गरी अध्यक्ष वैद्य र महासचिव थापाले आत्मालोचना नगरेसम्म बैठकमा नजाने चेतावनी दिँदै आएको थियो ।
यसैबीच आजको बैठकमा चन्दले आफ्नो पक्षले कपिलवस्तु भेलाबाट पारित गरेको प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।चन्दले तत्काल विशेष महाधिवेशन बोलाउन माग राखेर लिखिचत प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु