महाअभियोग प्रस्तावमाथि संसदमा छलफल हुदै

२०७३ कार्तिक ९ गते, मंगलवार

काठमाडौ, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावमाथि आजदेखि संसदमा छलफल सुरु हुँदैछ । संसदको आज बस्ने बैठकमा कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ । महाअभियोग प्रस्तावको पक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहमति जनाइसकेका छन् ।
कार्की विरुद्धको महाअभियोग प्रस्ताव आइतबार बसेको व्यवस्थापिका संसदमा पेश भएको थियो । सभामुख ओनसरी घर्तीले संसदमा पेश भएको महाअभियोग प्रस्तावमाथिको छलफल आज बस्ने व्यवस्थापिका संसद बैठकमा छलफल हुने बताईन ।
बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकको सुरुमा महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्र शाही र त्यसपछि समर्थकले कुरा राख्ने तय भएको छ ।
संसद बैठकमा महाअभियोग प्रस्तावमा सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ । महाअभियोग सिफारिस समितिले एक महिनाभित्र रायसहितको प्रतिवेदन संसदमा पेश गर्नुपर्छ । महाअभियोग समिति बुधबारमात्र गठन भएको थियो ।
महाअभियोग समितिले अख्तियार प्रमुख कार्कीलाई समितिमा बोलाएर बयान लिने छ । अख्तियार प्रमुख कार्की विरुद्ध गत बुधबार प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ माओवादी केन्द्रका १ सय ५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु