भैरवकुमारीको रोचक जात्रा सुरु

२०७४ श्रावण २६ गते, बिहीबार

काठमाडौ, २६ साउन । दोलखामा विशेष बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूह युद्धको शैलीमा नाच्ने रोचक जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातसम्म लाग्ने यो जात्रा बुधबार रातिबाट सुरु भएको हो । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीले राति पूजापाठ गरेपछि सुरु हुने नाचमा भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीड लाग्ने गरेको छ । मन्दिर र मूर्तिहरुको प्राचीन शहर दोलखामा करिब पाँच सय वर्षअघिदेखि भैरवकुमारीको जात्रा लाग्दै आएको छ ।
द्वादशीदेखि पाँचदिनसम्म प्रत्येक साँझपछि भैरब, कुमारीलगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् । पूजाको विधि सकिएपछि सिँगारिएर बसेका मुकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुले खाना खाने चलन छ । स्थानीय बाजागाजासहित भैरव र कुमारीलगायत ३२ जनाको समूह युद्धको शैलीमा विभिन्न टोलको डबलीमा नाच्दै सहरको परिक्रमा गर्ने परम्परा छ ।

प्रतिक्रियाहरु