भाषण गर्दागर्दै निधन

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेमा पार्टी भित्रको आन्तरिक किचलो, भागबण्डा र संविधान निर्माण प्रक्रियामा देखिएको अल्झन प्रति गाउँ स्तरका नेताहरु कतिसम्म चिन्तित रहेछन् भन्ने ज्वलन्त उदाहरण प्यूठानमा भएको एउटा दुःखत घटनाले स्पष्ट पारेको छ । नेवि संघको स्थापना दिवसका अवसरमा प्यूठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पार्टी र देश प्रति चिन्तित भएर भाषणा गर्दागर्दै स्थानीय नेता धनवहादुर साही वेहोस भएर ढले ।
अचेत भएका उनलाई जिल्ला अस्पताल लगियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बुटबल पुर्‍याइयो । बुटबलमा पनि सम्भव नभएपछि काठमाडौंमा उपचारका क्रममा अन्ततः उनको निधन भयो ।
कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा, नेवि संघका केन्द्रिय सदस्य लाओस राई, किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारी साथै जिल्लाका पूर्व सभापति तथा अन्य नेताहरुको मन्तव्य पूर्व उनले पार्टीमा आफूले गरेको संघर्ष र हालका नेताहरुको व्यावहार प्रति गम्भिर मन्तव्य दिइरहँदा उनी व्यहोस भएर ढलेको प्रत्यक्षदर्शी नेवि संघका केन्द्रिय सदस्य लाओस राईले जानकारी दिए ।
साही धुवाङ गाविसका इकाइ सभापति थिए । पार्टीप्रति निष्ठावान र समाजसेवामा लागेका उनी देशको विग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दागर्दै अचेत भएको किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारीले दाहसंस्कार स्थलबाट जानकारी दिए । नेवि संघका प्यूठान सभापति एनपी मगरको सभापतित्वमा भएको कार्यक्रममा उनलाई पनि मन्तब्य राख्ने अवसर दिइएको थियो ।
५६ बर्षीय साहीका तीन छोरा, तीन छोरी र श्रीमती छन । उनको स्थानीय हर्नघाटमा दाहसंस्कार गरिएको छ । मन्तव्यका क्रममा उनको एक्कासी प्रेसर बढेर अचेत भएका थिए । समाइरहेको माइक्रोफोन विस्तार हातबाट खसेको र उनी ढलेको प्रत्यक्षदर्शीले देखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु