भारतलाई कालापानीबाट तत्काल सेना हटाउन चेतावनी

२०७६ कार्तिक २३ गते, शनिबार

काठमाडौँ , २३ कार्तिक । जनअधिकार अभियान नेपालले कालापानीबाट सेना हटाउन भारतलाई चेतावनी दिएको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले कालापनीबाट भारतीय सेना तत्काल फिर्ता गर्न चेतावनी दिएका हुन् । भण्डारीको विज्ञप्तिमा भनिएको छ, ‘कालापानी क्षेत्र नेपालको आफ्नो भूभाग हो । काली नदीको उद्गम स्थल लिम्पियाधुरा हो । सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नै नेपालको पश्चिम सिमाना हो जुन कुरालाई सन् १८५६ अघिका नक्सा सन्धिसम्झौतालगायतले स्पष्ट पार्दछ । यी यावत वस्तुस्थितिका बाबजुद पनि भारतबाट नेपालको कालापानीलगायत क्षेत्रमा गरिएको अतिक्रमणको जनअधिकार अभियान नेपाल घोर विरोध गर्दछ ।’
भण्डारीको विज्ञप्तिमा भनिएको छ, ‘जनअधिकार अभियान नेपाल नेपालको सार्वभौमसत्ता सम्पन्नता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वतन्त्रताका पक्षमा अडिग छ । भारतले उक्त क्षेत्रबाट आफ्ना सेना हटाई तत्काल नेपालको भूमि खाली गर्नुपर्छ ।’
भण्डारीको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘यस सम्बन्धमा भारतले सार्वभौमिक समनताको सिद्धान्त एवम् अन्तर्राष्ट्रिय कानुनको पालना तथा सम्मान गर्नुपर्छ । नेपाल सरकार र भारतीय सरकारका बीच कूटनीतिक माध्यमबाट छलफल गरी समस्याको समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु