भरतपुरमा डेङ्गु बिगबिगी

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौं, ८ साउन । चितवनको भरतपुरस्थित बजार क्षेत्रका ८८६ घरमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा र प्युपा फेला परेका छन् । यसलाई चिकित्सा विज्ञानको भाषामा डेङ्गु पोजिटिभ भनिन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ती घरका एक हजार ५६४ वटा कन्टेनरमा लामखुट्टेका लार्भा र प्यूपा फेला परेका हुन् ।
असार अन्तिम साता यहाँ तीन दिनसम्म लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी मार्ने अभियान सञ्चालन भएको थियो ।
हालै तयार भएको उक्त अभियानको प्रतिवेदनबारे जानकारी दिँदै जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर क्षेत्रका १७ हजार ७७७ घरमा अनुगमनका क्रममा ८८६ घर डेङ्गु पोजिटिभ भएको पाइएको बताउनुभयो ।
ती घरका ६४ हजार ५४९ कन्टेनरको निरीक्षण गरिएको थियो । स्वास्थ्यकर्मी र महिला स्वयम्सेवी गरी करिब एक सयजना परिचालन गरी यहाँ असार अन्तिम साता अनुगमन भएको थियो ।
सबै क्षेत्रबाट प्राप्त विवरणलाई एकीकृत गरी प्रतिवेदन तयार पारिएको केसीले आज जानकारी दिनुभयो ।
निरीक्षक केसीले दिएको जानकारीअनुसार होटल, घर, कवाड दोकान, गाडी ग्यारेज तथा स्कुलमा समेत यस्तो लामखुट्टे भेटिएको छ ।
वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उहाँले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयलाई आग्रह गर्नुभयो । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् ।
गएको वर्ष चितवनमा कुल एक हजार ६७८ जनाको नमुना परीक्षणमा ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ ।
एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु